अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्दपछि नयाँ ठेक्का सम्झौतापछि सडक विस्तारले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र सिएनएवान काली जेभीसँग सडक विस्तारको सम्झौता भएपछि कामले तीव्रता पाएको हो ।
यसअघि गौरी–पार्वती निर्माण सेवासँग वि.सं. ०७९ जेठ २० गते सडक विस्तारका लागि सम्झौता भएको थियो । २२ महिना अर्थात् ०८१ फागुन १५ गते सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालयसँग सम्झौता भए पनि पटक–पटक म्याद सकिँदासमेत काम सम्पन्न भएको थिएन ।
समयमै काम सक्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो । सम्झाैताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेपछि पटकपटक म्याद थप्दासमेत निर्माण कार्यले गति लिन नसकेपछि ठेक्का सम्झौता तोडेको थियो ।
कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्ने गरी गत कात्तिकमा सिएनएवान काली जेभीसँग भ्याटबाहेक रु. ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ । हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस)को काम नभएको र चिसो कम हुँदै गएपछि पक्की बनाउने योजना बनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
उक्त सडकखण्डमा सुरुमा ‘सिटिभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिनेछ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको ‘स्लोप मेन्टेन’ र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिनेछ ।
उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरीनाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा रहेको छ ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।
सवारीसाधन आवागमनमा रोक लगाई स्तरोन्नति
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको अवस्थामा कालोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ देखि बिहान ५ बजेसम्म यातायातका साधन बन्द गरिएको हो ।
साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए। उनका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ।