निर्वाचनले उपभोग बढाउँदा आयात साढे १२ प्रतिशतले बढ्यो

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनकेन्द्रित चहलपहलले लामो समयदेखि शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाएको देखिएको छ । निर्वाचन घोषणा भएयता आयात निरन्तर बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाउँछ । निर्वाचनका कारण वस्तुको माग बढ्दा त्यसले आयात बढाएको विज्ञहरू बताउँछन् ।

चालू आर्थिक वर्ष ०८२/८३ को आठ महिना (साउनदेखि फागुनसम्म)मा कुल १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत अर्थात् एक खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँबराबरको आयात भएको थियो । यो आठ महिनामा समग्र व्यापार १३.५५ प्रतिशतले बढेको छ । सामग्र व्यापार बढ्नुको अर्थ आर्थिक गतिविधि चलायमान बनेको भनेर बुझ्नुपर्ने विज्ञहरू बताउँछन् । 

जेन–जी विद्रोहपछि बनेको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनका लागि निर्वाचन घोषणा गरेको थियो । निर्वाचन आयोगले ३० कात्तिकमा निर्वाचनतालिका प्रकाशन गरेको थियो । निर्वाचन घोषणा भएको भदौदेखि निर्वाचन सम्पन्न भएको फागुनसम्म नै आयात उल्लेखनीय रूपमा बढेको विभागको तथ्यांकले देखाउँछ । 

निर्वाचन हुने वर्षमा सरकारी खर्च बढ्ने, बजारमा नगद प्रवाह बढ्ने र उपभोग बढ्ने भएकाले आयात पनि बढ्ने अर्थशास्त्रीहरू बताउँछन् । निर्वाचनका वेला सवारीसाधन, निर्माण सामग्री, इन्धन, खाद्यान्न, इलेक्ट्रोनिक्सलगायत उपभोग्य वस्तुको माग बढ्ने भएकाले आयात वृद्धि हुने गर्छ । देशमा औद्योगिक वातावरण अनुकूल बन्दै गइरहेको र निर्वाचनका कारण उपभोगमा वृद्धि भएकाले आयात बढेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयको भनाइ छ । यद्यपि, मध्यपूर्वको तनावले निम्त्याउने आपूर्ति शृंखलामा अवरोध, मूल्यवृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुने परिस्थितिले आयातमा चाप पर्ने र व्यापारघाटा चुलिने जोखिम रहेको उनको विश्लेषण छ । 

 एक खर्ब ७६ अर्बको पेट्रोलियम आयात 
चालू आवको आठ महिनामा एक खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ७५ अर्ब ३७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको तुलनामा एक अर्ब नौ करोडभन्दा बढीको पेट्रोल आयात भएको छ । चालू आवको फागुनसम्म ४३ अर्ब ८९ करोडको पेट्रोल र ८२ अर्ब १० करोड डिजेल आयात भएको छ । खाना पकाउने ग्यासको आयात मूल्यमा घटेको तर, परिमाणमा भने बढेको देखिन्छ । चालू आवको आठ महिनामा ३७ अर्ब ३१ करोड रुपैयाँमा ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा ४१ अर्बको ग्यास आयात भएको थियो ।

 निर्यात २० प्रतिशत बढ्यो 
यो अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेर एक खर्ब ९१ अर्ब पुगेको छ । नेपालको निर्यात व्यापारमा प्रशोधित सोयाबिन तेल सबैभन्दा ठुलो निर्यात वस्तु बनेको छ । तथ्यांकअनुसार सोयाबिन तेलको निर्यात रकम ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । निर्यात सूचीमा दोस्रो स्थानमा ठुलो अलैँची रहेको छ । 

 अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय भन्छन्– देशमा औद्योगिक वातावरण अनुकूल बन्दै गइरहेको र निर्वाचनका कारण उपभोगमा वृद्धि भएकाले आयात बढेको हो । यद्यपि, मध्यपूर्वको तनावले व्यापार र समग्र अर्थतन्त्र प्रभावित हुने जोखिम छ ।

सुझावित समाचार