पलेँटीमा दार्जिलिङको सांगीतिक अतीत सुनाउँदै दुर्गा खरेल

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यसपटक दार्जिलिङका प्रसिद्ध गायक तथा संगतीकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन्। पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो।

दुर्गा नेपाली सांगीतिक जगतका सम्पूर्ण नेपालीभाषी श्रोताबिच स्थापित नाम हो। खासगरी ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ दुर्गाको स्वरमा लोकप्रिय बनेको गीत हो। दाजु बद्री खरेल र दुर्गा खरेलको सांगीतिक जोडी बद्री–दुर्गाको नामले चिनिँदै आएको छ। यसपल्ट भने दुर्गाले बाल्यकालदेखि आफूले सुनेका र मनमा गढेर रहेका मेलोडी लिएर आएका छन्। कार्यक्रममा दुर्गाका साथै पलेँटीकी कण्ठ–शिल्पी अभिज्ञा घिमिरेको स्वरमा अतीतका धुनहरू गुञ्जने छन्।

सङ्गीतकार गोपाल योञ्जनको सामिप्यमा हुर्किएका दुर्गाले सानो छँदा अम्बर गुरुङ, जितेन्द्र बर्देवा, शान्ति ठटाल, कर्म योञ्जनलगायतका अनेकौं सर्जकका सृजनाको रसास्वादन गर्न पाए। गीतकार नरदेन रुम्बासँग त सहकार्य नै गर्ने अवसरसमेत जुर्यो। उनले विगतको त्यही परिवेशलाई पलेँटीमा झल्काउने जानकारी गराए। जसमा गीत संगीतका सर्जकहरू अम्बर गुरुङ, गोपाल योञ्जन, बलु बराइली, एम.बी सुन्दास, नरदेन रुम्बा, फटिकधर ब्राम्हण आदिका रचनाहरू समेटिएका छन्।

पलेँटी कार्यक्रम यही मार्च २७ र २८ तारिखमा आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने कार्यक्रमको टिकेट अनलाइनबाटै प्राप्त गर्न सकिन्छ।

सुझावित समाचार