नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा भारतका चर्चित निर्देशक, निर्मात एवं कलाकार रमेश सिप्पीको विशेष उपस्थित रहने भएको छ।
निफका अध्यक्ष केपी पाठकका अनुसार सिप्पी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो। सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सुनाउनेछन्।
पाठकले भने, ‘नेपाली–भारतीय मेकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको अनुभवले भारतीय फिल्म मेकिङको अनुभवले नेपाली मेकरहरूलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्ने भएकाले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौँ। उहाँले स्वीकार गर्नुभयो।’
सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन्। बलिउडमा काशेढुंगा मानिने फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो। पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो। उनी दर्जनौँ फिल्मको निर्माता र केही फिल्ममा कलाकारसमेत बनेका छन्।
नवौँ संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदै छ। आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ।