हिमपातपछि खुलेको आकाश, ताप्लेजुङमा मनमोहक दृश्य

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

आइतबार बिहानदेखि ताप्लेजुङमा मौसम खुलेको छ। शुक्रबार र शनिबार लगातार परेको वर्षा रोकिएसँगै आकाश सफा भएको हो।

दुई दिनसम्मको वर्षासँगै जिल्लाको उच्च हिमाली भेगमा भने बाक्लो हिमपात भएको छ। प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रसहित यांमा, घुन्सा र ओलाङचुङगोलाआसपासका डाँडाकाँडा हिउँले ढाकिएर सेताम्मे बनेका छन्।

स्थानीयका अनुसार यसपटक हिउँद मौसमभन्दा चैतमा बढी हिमपात भएको छ। वर्षा र हिमपातले मकै, अलैँचीलगायतका खाद्यान्न तथा नगदे बालीमा सकारात्मक प्रभाव परेको भन्दै किसानहरू उत्साहित छन्।

मौसम खुलेसँगै हिमालका सेताम्मे दृश्य, सफा आकाश र मनमोहक वातावरणले ताप्लेजुङ आएका पर्यटकलाई लोभ्याएको छ। फुङ्लिङका होटेल व्यवसायी कैलाश बानियाँका अनुसार पछिल्लो हिमपातपछि देखिएको दृश्यले पर्यटकको आकर्षण झन् बढाएको छ। यद्यपि, हिमपातका कारण जिल्लामा चिसो भने उल्लेख्य रूपमा बढेको छ। आइतबार बिहानदेखि घाम लाग्न थालेपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

सुझावित समाचार