१० अर्ब पुँजीको फन्ड तत्काल अघि बढाउन एनआरएनएको अग्रसरता

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको १० अर्ब पुँजीको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड तत्काल सञ्चालनमा ल्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अग्रसरता देखाएको छ ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिले कोषलाई तत्काल अघि बढाउने निर्णय गरेको हो । (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले फन्ड तत्काल सञ्चालनका लागि आवश्यक नियमकीय व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने तथा पुँजी परिचालनका लागि विभिन्न देशमा ‘रोड सो’ कार्यक्रम गर्ने निर्णय गरेको हो । 

नेपाल सरकारको पाँच प्रतिशत, एनआरएनए संस्थापकको १० प्रतिशत र विश्वभर छरिएर रहेका एनआरएनको ८५ प्रतिशत लगानी हुने गरी १० अर्ब पुँजीको कोष स्थापना गरिएको छ । तर, सेयर संरचना र पुँजी लगानीको प्रक्रिया अझै टुंगिएको छैन ।

त्यस्तै, कानुनी तथा नियामकीय व्यवस्थासमेत अझै पूर्ण भइसकेको छैन । हालै सम्पन्न एनआरएनएको १२औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक तथा भावी कार्ययोजनासम्बन्धी कार्यशाला गोष्ठीले एनआरएनको आथिक लगानी बढाउने तथा त्यसका लागि एनआरएन फन्ड तत्काल सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय गरेको प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए ।

‘नेपाल सरकार तथा गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको १० अर्ब पुँजीको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको तत्काल सञ्चालनका लागि आवश्यक नियामक व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने’ बैठकको निर्णयमा उल्लेख छ, ‘त्यस्तै, उक्त फन्डमार्फत गैरआवासीय नेपालीको पुँजी परिचालन गर्न यस एनआरएनएअन्तर्गतका ६ वटा अमेरिका, एसिया, ओसेनिया, मध्यपूर्व–मलेसिया, अफ्रिका र युरोपमा क्रमिक रूपमा रोड सो कार्यक्रम आयोजना गरी लगानीकर्ता आकर्षित गर्ने ।’

नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा तीन दिनसम्म चलेको बैठक शुक्रबार सम्पन्न भएको हो । 

See More On

सुझावित समाचार