भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण
  • यो सिजनमा तेस्रो ट्रफी चुम्ने क्रममा भुवन नगरकोटीले दोस्रो स्थानमा रहेका सञ्जय लामालाई एक स्ट्रोकले निराश बनाए

भुवन नगरकोटीले करिअरकै १४ तथा यस सिजनको तेस्रो उपाधि जित्ने क्रममा शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन जितेका छन् । भुवनले समग्रमा तीन अन्डर दुई सय चारको स्कोर गर्दै उपाधि जितेका हुन् । दोस्रो स्थानमा रहेका सञ्जय लामामाथि उनले एक स्ट्रोकको अग्रता लिँदै ह्याट्रिकसमेत गरे । उपाधिसँगै भुवनले एक लाख ७० हजार प्राप्त गरे । 

यसअघि चालू सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । उपविजेता बनेका सञ्जयले समग्रमा दुई अन्डर दुई सय पाँचको स्कोर गरेका थिए । उनले एक लाख २५ हजार रुपैयाँ जितेका छन् । एमेच्योर राहुल विश्वकर्माले अन्तिम दिनमा खेल सुधार गरी समग्रमा एक अन्डर दुई सय ६ स्कोर गर्दैै गरी तेस्रो स्थान रक्षा गरेका छन् । 

धरानका गल्फर शुक्रबहादुर राईले अन्तिम दिनको खेल सकाउँदा समग्रमा दुई ओभर दुई सय नौसहित चौथो स्थान रक्षा गरे । व्यावसायिकतर्फ शुक्रबहादुर तेस्रो हुँदै उनले एक लाख आफ्नो नाममा लेखाए । जयराम श्रेष्ठले समग्रमा सात ओभर दुई सय १४ सहित पाँचौँ स्थानमा चित्त बुझाए । पोखराका घरेलु गल्फर भूबहादुर गुरुङ छैटौँ भए ।

१८ होलसम्म भुवन र सञ्जयबिच प्रतिस्पर्धा
भुवन र सञ्जयबिच अन्तिम होलसम्म प्रतिस्पर्धा बनेको थियो । दुईमध्ये एक खेलाडीले सामान्य गल्ती गर्दा पनि उपाधि गुमाउन सक्ने अवस्था सिर्जना भएको थियो । यस्तोमा भुवनले संयमित हँुदै अन्तिम १८ होलसम्म एक स्ट्रोकको अग्रता बनाइराखे । अर्कोतिर शुक्रबहादुर र जयरामले सुरुदेखि खेल बिगार्दा भुवनलाई उपाधि जित्न सजिलो भयो । छैटौँ होलमा बोगी खेपेका भुवनले आठौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन पार खेली ३४ स्कोर गरे । 

त्यसपछि बाँकी नौ होलमा शुक्र र जयरामले टक्कर दिन नसके पनि सञ्जयले चुनौती दिएका थिए । भुवनले ब्याक नाइन पनि इभन पार ३५ मा सकाउँदै एक स्ट्रोकको जित निकाल्न सफल भए । उनले १०औँ र १३औँ होलमा बर्डी निकाले भने १२औँ र १७औँ होलमा समान एक सट खेर फाले । सञ्जयले फ्रन्ट नाइन एक अन्डर ३३ मा सकाए । उनले पहिलो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरेका थिए । दोस्रो र छैटौँ होलमा उनले एक–एक सट खेर फालेका थिए । ब्याक नाइनमा सञ्जयले पाँचै होलमा बर्डी प्रहार गरे ।

१०औँ होलमा र यसपछि १४ देखि १७ होलसम्म लगातार चार बर्डी प्रहार गरे । तर, १२औँ र १८औँ होलको बोगीले उनी ब्याक नाइन तीन अन्डर ३२ को स्कोरमा सीमित भए । विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले भाग लिएका थिए । १० लाख ५० हजार पुरस्कार रहेको यो प्रतियोगितामा शीर्ष १८ स्थानसम्मका प्रोफेसनल खेलाडीले नगद पुरस्कार पाएका छन् । 

सुझावित समाचार