बर्दियामा ५२ वर्षीय डिल्ली कडायतको हत्या कसुरमा २९ वर्षीय छोरा नरेश कडायतलाई १५ वर्ष कैद सजाय सुनाएकाे छ। बर्दिया जिल्ला अदालतले गेरुवा गाउँपालिका– ५, झबहीका डिल्लीको हत्या आरोपमा छोरा नरेशलाई दोषी ठहर गरेको हो।
अदालतका न्यायाधीश डल्लुराम चौधरीको शुक्रबारको इजलासले नरेशलाई १५ वर्ष कैद, एक लाख ५० हजार जरिवाना र पाँच लाख क्षतिपूर्ति फराउने फैसला गरेको अदालतका श्रेस्तेदार कमल घलेले जानकारी दिए।
नरेशले बाबुलाई ०८२ साउन १८ गते बिहान साढे ५ बजेतिर टाउको र यौनाङ्गमा हानेर घाइते बनाएका थिए। डिल्लीको नेपालगन्जमा उपचारका क्रममा भदौ ४ गते मृत्यु भएको थियो।
नरेशकी आमा गुमादेवी कडायतले नरेशविरुद्ध इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएकी थिइन्। प्रहरीले नरेशलाई साउन १८ गते नै पक्राउ गरी भदौ १२ गते जिल्ला सरकारी वकिलको कार्यालयले ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो।