नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसहित केन्द्रीय कार्यसमितिमा दस्ताबेज पेस गरेका छन्।
ललितपुरको सानेपामा बसेकाे बैठकमा उपसभापति शर्माले नयाँ नेतृत्व आएको ५० दिनमै दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत नहुने भन्दै सभापतिको राजीनामा अस्वीकृत गर्न प्रस्ताव गरेका हुन्। ‘वार्मअप’ अवधिमा कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिए पनि सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न नसकिने उनको तर्क छ।
‘राजनीतिमा हनिमुन पिरियड भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको सुरुवाती सय दिनलाई। त्यो ‘वार्मअप’को अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिन्न। त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न, अनि प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पद त्याग गर्नु संगठनप्रति न्याय हुन्न,’ शर्माको प्रस्तावमा उल्लेख छ।
विशेष महाधिवेशन सम्पन्न भएको पाँच दिनमा उम्मेदवारी दर्ता र ५०औँ दिनमा निर्वाचन भएको उल्लेख गर्दै उनले परिवर्तनको सन्देश नागरिकको मन–मस्तिष्कसम्म पुऱ्याउन नसकिएको औँल्याएका छन्।
‘लामो समयदेखिको नागरिक असन्तुष्टिलाई यो छोटो अवधिमा ‘यु टर्न’ गराएर विश्वासमा बदल्न सकिएन। विशेष महाधिवेशनबाट पार्टीलाई उचाइमा उठाउन सुरु गरियो, तर समय पर्याप्त नहुँदा शिखर पुग्न सकिएन,’ प्रतिवेदनमा भनिएकाे छ।