कांग्रेस महामन्त्री गुरुराज घिमिरेको आह्वान- पार्टीको १५औँ महाधिवेशनको तयारीमा जुटौँ

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसका कार्यकर्तालाई १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्। उनले पार्टीसँग बलियो सिद्धान्त, गौरवशाली इतिहास र सक्षम नेतृत्व रहेको उल्लेख गर्दै विगतका विवाद बिर्सेर आन्तरिक एकता सुदृढ गर्नुपर्ने बताएका छन्।

घिमिरेले निरर्थक बहस त्यागेर साझा जिम्मेवारीमा केन्द्रित हुन र आजैदेखि एकताबद्ध भएर महाधिवेशनको तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘नेपाली कांग्रेससँग दिग्विजयी सिद्धान्त, गौरवपूर्ण इतिहास, अतुलनीय व्यक्तित्व भएका संस्थापक नेताहरू, सर्वाधिक त्याग र बलिदानको अटुट शृंखला, राष्ट्र निर्माणको सुस्पष्ट मार्गचित्र तथा सुनौलो भविष्य छ। त्यसका लागि अहोरात्र काम गर्न सक्ने आशालाग्दो नेतृत्व छ ।’

विगतका तिता प्रसंगहरूलाई विस्मृतिमा राखेर, पार्टीको आन्तरिक एकतालाई प्रवर्द्धन गर्दै अघि बढ्नु आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको उनले बताए।

उनले थपे, ‘अब हामी निरर्थक एवं अनुत्पादक बहस छाडेर एकताबद्ध भई हाम्रो साझा दायित्वमा केन्द्रित बनौँ। त्यसैले, पार्टीका सबै साथीहरूलाई विनम्र आग्रह छ– आजकै मितिबाट सम्पूर्ण एकताका साथ पार्टीको १५औँ महाधिवेशनको तयारीमा जुटौँ ।’
 

सुझावित समाचार