नाकामा सशस्त्रका डिएसपीमाथि हातपात

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

कैलालीको टीकापुर नगरपालिकास्थित खक्रौला नाकामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मभित्र पसेर स्थानीय केही व्यापारी र युवाले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरेका छन् । सशस्त्र प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै टीकापुरका व्यापारी र युवाले पौडेलमाथि बुधबार हातपात गरेका हुन् ।

हातपातको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि घटना बाहिर आएको हो। भिडियोमा गुल्मभित्र पसेर केही युवाले पौडेललाई हातपात गरेको देखिन्छ। भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको विषयमा विवाद हुँदा हातपात भएको बताइएको छ । स्थानीय व्यवसायीका अनुसार टीकापुरमा रहेको एसजिए ट्रेड एन्ड सप्लायर्सले भारतबाट जिएसटी बिलसहित ल्याएको करिब एक लाख मूल्यबराबरको सामान सशस्त्रले मंगलबार बेलुका समातेको थियो। 

बिल भएको सामान भन्सार नपुग्दै समातेको भन्दै विवाद भएपछि बुधबार दिउँसो टीकापुर उद्योग वाणिज्य संघको टोलीसहित गएर विरोध जनाएपछि सशस्त्रले सामान फिर्ता गरेको थियो । सामान समातेको विषयमा विवाद भएपछि स्थानीय व्यवसायी र केही युवाले हातपात गरेका बताइएको छ। ‘भन्सार नपुग्दै समातेको गुनासो व्यापारीबाट आएपछि हामी सशस्त्रको गुल्म गएका थियौँ,’ टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमित्सिनाले भने, ‘सशस्त्रसँगको छलफलपछि वैध रपमा आएको उक्त सामान भन्सार तिरेर ल्याउने सहमति भएको थियो । पछि हातहातको घटना भएछ ।’ 

एक स्थानीयका अनुसार डिएसपी पौडेलले भारतबाट सामानको अवैध आयात रोक्न नाकामा चेकजाँचमा कडाइ गरेका थिए । त्यही कारण केही व्यवसायी र स्थानीय उनीसँग रुष्ट थिए ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाले घटनाको छानबिनका लागि समिति गठन गरेको छ । सशस्त्र प्रहरीले गुल्ममा कार्यरत सबैलाई जिल्लामा तान्ने तयारीसमेत गरेको छ । 

सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले बताएका छन् । 
     
      
     
 

सुझावित समाचार