प्रधानमन्त्री सुशीला कार्की बिहीबार जुम्ला आइपुगेकी छिन्। उनी मुगुको रारातालको भ्रमणपछि जुम्ला पुगेकी हुन् । जुम्ला पुगेलगत्तै प्रधानमन्त्री कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र भव्य रूपमा सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा स्थानीय बासिन्दाहरूलाई विशेष धन्यवाद ज्ञापन गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीको यो भ्रमण पूर्ण रूपमा अनौपचारिक रहेको बुझिएको छ। प्रधानमन्त्री कार्की जुम्लास्थित नम्बर २४ बाहिनी अड्डामा बसेकी छिन्। भ्रमण व्यक्तिगत र अनौपचारिक भएकाले सुरक्षा निकायबाहेक अन्य सरोकारवाला पक्षसँग भेटघाटको कुनै पनि औपचारिक कार्यक्रम तय नभएको २४ बाहिनी अड्डाले जानकारी दिएको ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार प्रधानमन्त्रीले जुम्लाका केही पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने सम्भावना छ। ‘प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालयको भ्रमण गर्न सक्ने चर्चा छ, तर यसबारे उहाँबाट ठोस प्रतिक्रिया भने आइसकेको छैन,’ प्रजिअ पौडेलले भने । उनले शुक्रबार बिहान कर्णालीकै प्रसिद्ध प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। मन्दिर दर्शनपश्चात् उनी भोलि नै काठमाडौं फर्कने कार्यतालिका रहेको प्रजिअले पौडेलले बताए।