लामो समयदेखि जीर्ण रहेको नारायणी रंगशालाको प्यारापिट पुनर्निर्माण कार्यको बिहीबार शिलान्यास भएको छ। मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजी गुप्ताले एक कार्यक्रमबिच प्यारापिट पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्। शिलान्यास गर्दै उनले प्यारापिट निर्माणकार्य सम्झौताअनुसार समयसीमामा पूरा गर्ने विश्वास व्यक्त गरेका हुन्।
गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन र भर्खरै सम्पन्न भएको निर्वाचनको कारण काम केही ढिलो गरेर सुरु भएको हो। सरकारले चालू आर्थिक वर्ष ०८२/८३ को बजेटमा नारायणी रंगशालाको पुनर्निर्माणका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
जसमा रंगशालाको ब्लक ‘सी’को प्यारापिट निर्माणका लागि काठमाडौंको अंकुर निर्माण सेवाले दुई करोड १७ लाख ७२ हजारमा भ्याटबाहेक ठेक्का साकार गरेपछि काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवले जानकारी दिए। उनका अनुसार केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै रंगशालामा बजेट हालेको र त्यही बजेट हाल निकासा भएर आएपछि रंगशालाको पुनर्निर्माणको काम सुरु गरिएको हो।
रंगशलाका जीर्ण प्यारापिटहरू डोजर लगाएर भत्काउन थालिएको छ। पहिलो चरणमा जीर्ण प्यारापिटहरू भत्काएर नयाँ प्यारापिट निर्माण गर्ने योजना रहेको इन्जिनियर यादवले सुनाए । पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुले रंगशलाका जीर्ण प्यारापिटहरू डोजर लगाएर भत्काउन थालिएको बताए। पहिलो चरणमा जीर्ण प्यारापिटहरू भत्काएर नयाँ प्यारापिट निर्माण गर्ने योजना रहेको साहले सुनाए।
काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठुलो वीरगन्जको नारायणी रंगशाला (३५ हजार दर्शक क्षमताको) जीर्ण भइरहँदा पनि मर्मत र पुनर्निर्माणका लागि तीनै तहका सरकारले प्राथमिकतामा राखेका थिएनन्। यहाँका खेलप्रेमी र खेलाडीहरूले रंगशाला मर्मत तथा पुनर्निर्माणका लागि करिब एक दशकदेखि विभिन्न दबाबमूलक आन्दोलन पनि गर्दै आएका थिए । संघीय र प्रदेश संसद् बैठकमा यस क्षेत्रका जनप्रतिनिधिले नारायणी रंगशालाको पुनर्निर्माणका लागि पटक–पटक आवाज पनि उठाउँदै आएका थिए।
तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा ०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कभर्डहल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । ०४२ सालमा निर्माण भएको नारायणी रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए । यो रंगशालामा करिब डेढ दशक अघिसम्म राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएका थिए । तर, मर्मत–सम्भारको अभावमा रंगशाला जीर्ण हुँदै गएपछि यहाँ कुनै पनि खेलकुद प्रतियोगिता हुन सकेको छैन ।