- जय ट्रफीको पहिलो संस्करणमा २४ र दोस्रोमा सर्वाधिक २६ विकेट लिँदै नेपाल पुलिसका स्पिनर ललितनारायण राजवंशी बने ५० विकेट लिने पहिलो बलर
नेपाली राष्ट्रिय टोलीका स्पिनर ललितनारायण राजवंशीले जय ट्रफी क्रिकेट प्रतियोतिगामा ५० विकेट पूरा गरेका छन् । विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध राजवंशी जय ट्रफीमा ५० विकेट लिने पहिलो बलर बनेका हुन् । मूलपानी मैदानमा दोस्रो संस्करणको जय ट्रफी फाइनल खेल चलिरहेको छ । उपाधि भिडन्तमा पुलिस र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गरिरहेका छन् । तीनदिवसीय फाइनलमा राजवंशीले आर्मीविरुद्ध दोस्रो इनिङमा तीन विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले यो सफलता चुम्न समग्रमा १६ इनिङ्स बलिङ गरेका छन् ।
जय ट्रफीमा सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा आर्मीका सहाब आलाम छन् । उनले १६ इनिङ्समा ४२ विकेट लिएका छन् । जय ट्रफीको पहिलो संस्करणमा राजवंशीले आठ इनिङ्समा २४ विकेट हात पारेका थिए । गत वर्ष साहबले आठै इनिङ्समा बलिङ गरी सर्वाधिक ३३ विकेट लिएका थिए । पहिलो संस्करणको तुलनामा यसपटक राजवंशीले उत्कृष्ट बलिङ गरिरहेका छन् । गत महिना भारत र श्रीलंकाले आयोजना गरेको १०औँ टी–२० विश्वकपमा खासै गतिलो प्रदर्शन गर्न नसकेका राजवंशीले घरेलु प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेका छन् ।
उनले दोस्रो जय ट्रफीमा पुलिसलाई फाइनल स्थान बनाउन महत्वपूर्ण योगदान दिएका छन् । उनले आठ इनिङ्समा २६ विकेट लिए । यसपटक उनले दुईपटक पाँच तथा एकपटक चार विकेट लिए । गत संस्करणमा सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहेका साहबले यसपटक सात इनिङ्समा नौ विकेट मात्र लिएका छन् । गत वर्ष उनले आठ इनिङ्समा सर्वाधिक ३३ विकेट हात पारेका थिए ।
ललितलाई पछ्याउँदै सागर
दोस्रो संस्करणमा सागर ढकाल धेरै विकेट लिने बलरको सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । पुलिसबाट प्रतिस्पर्धा गरिरहेका सागरले आठ इनिङ्समा १२२.२ ओभर बलिङ गरी १५ विकेट हात पारेका छन् । यस क्रममा उनले दुईपटक चार तथा एकपटक पाँच विकेट लिएका छन् । गत संस्करणमा उनले दुई इनिङ्स बलिङ गरी ११ विकेट लिए । समग्रमा उनले २६ विकेट लिका छन् । यस सिजनमा पुलिसका करण केसी पनि उत्कृष्ट लयमा देखिएका छन् । उनले चार इनिङ्समा ११ विकेट लिएका छन् । गत सिजन सर्वाधिक विकेट लिने सूचीको तेस्रो स्थानमा रहेका पुलिसका अलराउन्डर कुशल भुर्तेलले दोस्रो स्थानमा सात विकेट मात्र लिएका छन् । पहिलो संस्करणमा उनले सात इनिङ्समा १७ विकेट हात पारेका थिए ।
आर्मी १७८ रनले अगाडि
दोस्रो संस्करणको जय ट्रफी फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिसविरुद्ध दोस्रो इनिङ्समा १७८ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्तिसम्म आर्मीले नौ विकेट गुमाएर १७८ रन जोडेको थियो । यसअघि पहिलो इनिङ्स ब्याटिङ गरेको आर्मीले ५२ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनाएको थियो । पुलिस पनि आफ्नो पहिलो इनिङ्समा २२१ रनमै अलआउट भएको थियो ।
पुलिसको दोस्रो इनिङ्समा कप्तान आरिफ शेखले ४४ रन जोडेका थिए । यसैगरी करण केसीले आक्रामक ब्याटिङ गरी १०९ बलमा ७२ रनको योगदान दिए । उनले आफ्नो ब्याटिङ इनिङ्समा सात चौका र दुई छक्का प्रहार गरेका थिए । आरिफले ७० बलमा ६ चौका प्रहार गरे । करणलाई ललितनारायण राजवंशीले नवौँ विकेटका लागि ६२ रनको साथ दिए । इनिङ्सको एक समय पुलिस ४०.२ ओभरमा १३६/८ को स्थितिमा थियो । त्यसपछि ललित र करणले इनिङ्स सम्हाले ।
ललितले ३३ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रन बटुले । आर्मीका लागि सोमपाल कामीले पाँच विकेट लिए । उनले १७ ओभरमा तीन मेडन राखी ७२ रन खर्चेका थिए । आकाश चन्दले दुई विकेट हात पारे ।
पुलिसको कसिलो बलिङ
आर्मीको दोस्रो ब्याटिङ इनिङ्स गतिलो भएन । विशेषत: पुलिसका तीन बलरले उत्कृष्ट बलिङ प्रदर्शन गर्दा आर्मीले सोचेजस्तो योगफल बनाउन नसकेको हो । करण, ललित र सागर ढकालले समान तीन विकेट हात पारेका थिए । पुलिसका सागर ढकालले दोस्रो इनिङ्सको बलिङमा प्रभावशाली प्रदर्शन गरे । खेल समाप्तिसम्म १४ ओभर बलिङ गरेका सागरले दुई मेडन राखी ४० रन खर्चेर तीन विकेट लिएका छन् । उनले चार ओभरको अन्तरमा तीन विकेट हात पारेका हुन् । इनिङ्सको ३४.६ ओभरमा कुशल मल्ल, इनिङ्सको ३६.४ ओभरमा बसिर अहमद र इनिङ्सको ३८.२ ओभरमा नरेन साउदलाई आउट गरी उनले आर्मीमाथि दबाब बढाएका थिए ।
यसैगरी करणले तीन विकेट आफ्नो नाममा लेखाउन इमरान शेख, तृतराज तथा सहाव आलमलाई पेभेलियन पठाए । जय ट्रफीमा आफ्नो ५० विकेट पूरा गरेका ललितले भीम सार्की, विनोद भण्डारी तथा पवन कार्कीलाई आउट गरेका थिए । लतिलले १९ ओभर बलिङ गरी पाँच मेडन राखी ५९ रन खर्चेका छन् । सुरुवात राम्रो गरेको आर्मीको मध्यक्रम कमजोर भयो । इनिङ्सका एक समय आर्मी २३.६ ओभरमा १०५–३ को स्थितिमा थियो । आर्मी थप २५ रन जोड्दा ३९.५ ओभरमा १३०/८ को कमजोर स्थितिमा पुग्यो । पुलिसका तीन बलरले आर्मीका मध्यक्रमका ब्याट्सम्यानलाई दबाबमा राखेका हुन् ।
आर्मीका लागि ओपनर तृतराज दासले ३७ बलमा २२ रन बनाए । इमरान शेखले २८ बलमा १६ रन बनाए । भीम सार्कीले ५२ बलमा ६ चौकाको सहयोगमा ३२ रनको योगदान दिए । कुशल मल्लले पनि ५८ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३६ रन बटुले । कप्तान विनोद भण्डारी १२ रनमा आउट भए । पुछारमा सहाब आलमले केवल ३१ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३३ रनको योगदान दिए । बलर आकाश चन्दले ३६ बल सामना गरी १५ रन जोडे ।