बुधबार : १० बजेसम्मका प्रमुख १० खबर

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

अब कुनै नेताले होइन देशको नीतिले तपाईंको संरक्षण गर्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश निर्माणको अभियानमा साथ दिन निजी क्षेत्र र नेपाली डायोस्पोरालाई आह्वान गरेका छन्। बुधबार पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले नेपालमा लगानीको बढाउन निजी क्षेत्र, नेपाली डायोस्पोरा र विदेशी लगानीकर्तालाई आह्वान गरेका हुन् । 

अब लगानीको सुरक्षा कुनै नेता र पार्टीले नभई नीतिले गर्ने भएकाले ढुक्कसँग लगानी गर्न उनले आग्रह गरेका हुन्। 

यी हुन् फेक रेस्क्युमा संलग्न १७ कम्पनी

बिमा रकम हत्याउन नेपाल घुम्न आएका पर्यटकको जर्बजस्ती हेलिकोप्टरमा उद्धार गरी फर्जी बिल उठाएर ठगी गरेको घटनामा सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गर्ने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को अनुसन्धानमा ३३ जनाको संलग्नता देखिएको थियो । सिआइबीको प्रतिवेदनका आधारमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेले बताए । 

सिआइबीले चारवटा कसुरमा कारबाहीको सिफारिस गरेको छ । संगठित अपराधसहित राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको ब्युरोले जनाएको छ । ३३ जनामध्ये १० जनालाई सिआइबीले पक्राउ गरिसकेको छ भने बाँकी फरार छन् । ‘एक चरणको अनुसन्धान पूरा भएको छ,’ सिआइबीका एआइजी डा. मनोज केसीले भने, ‘जसमा संलग्न ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेका छौँ ।’ सिआइबीले उनीहरूविरुद्ध ९४ करोड ८४ लाख नेपाली रुपैयाँ तथा २९ लाख ९८ हजार अमेरिकी डलरबराबरको बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ । 

सांसदको शपथका लागि तयार हुँदै छ हल(तस्बिरहरू)

नवनिर्वाचित सांसदहरूको शपथका लागि सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा अस्थायी हल लगभग तयार भएको छ। आगामी साता सांसदहरूको शपथ तयारी भइरहेको छ। 

संसद् सचिवालयका अनुसार १२ चैतमा सांसदहरूको शपथ हुनेछ। समयभित्र संसद् भवन निर्माण सम्पन्न नभएपछि अस्थायी बैठक कक्ष निर्माण गरिएको हो। 

सिंगापुरमा अवैध रूपमा बसेर काम गर्ने ११ नेपाली पक्राउ

सिंगापुरमा अवैध रूपमा काम गर्दे आएका ११ नेपाली पक्राउ परेका छन्। गत १० मार्चमा सिंगापुरको जनशक्तिसम्बन्धी मन्त्रालयले गरेको छापामा उनीहरू पक्राउ परेका हुन्। 
पक्राउ परेकाहरू २१ देखि ४३ वर्ष उमेरका नेपालीहरू रहेको त्यहाँको अध्यागमनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

पर्यटक भिसामा सिंगापुर पुगेका उनीहरूको भिसा अवधि समाप्त भइसकेको थियो। अर्काेतर्फ पर्यटक भिसामा गएर काम गर्न नपाइने कानुनी व्यवस्था छ। त्यसविपरीत उनीहरू विभिन्न कम्पनीमा काम गर्दै आएका थिए। दलालहरूले ती नेपालीलाई रोजगारीको आश्वासनमा सिंगापुर लगेर यसरी फसाएको आशंका गरिएको छ । 

चुनावको समीक्षाका लागि नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको छ। 

निर्वाचनपछि कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको छ। निर्वाचनको समीक्षा र पार्टीको आगामी कार्यदिशा तय गर्न बैठक बोलाइएको पार्टीले जनाएको छ। 

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूलाई निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै धन्यवाद दिएकी छिन्।

प्रधानमन्त्रीको निमन्त्रणामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत बालुवाटार पुगेका थिए।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले नेताहरूको भूमिकाकाे प्रशंसा गर्दै भनिन्, ‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो, चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक निकास दिन सहयोग गर्नुभयो। यसका लागि धेरै धन्यवाद छ ।’

सुनको भाउ तोलामा २२ सयले घट्यो

नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर तीन लाख सात हजार सात सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला तीन लाख नाै हजार नाै सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएको छ। यसअघि चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

उदयपुरमा स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

उदयपुरको बेलका नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक बालकको दुःखद मृत्यु भएको छ।

बेलका नगरपालिका–४, हरिपुर सिसवारीस्थित भित्री सडक खण्ड जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही विद्यालयका विद्यार्थी थिए।

ग्रेटर लुम्बिनी परियोजनाका लागि विश्व बैंकले ८५ मिलियन अमेरिकी डलर ऋण दिने निर्णय

रुपन्देही , नवलपरासी र कपिलबस्तुलाई जोडेर निर्माण गरिएको ग्रेटर लुम्बिनी परियोजनाका लागि विश्व बैंकले ८५ मिलियन डलर ऋण सहयोग गर्ने निर्णय गरेको छ । गत वर्षको मार्चबाट ग्रेटर लुम्बिनी’ परियोजनाको प्रस्ताव अगाडि बढेको अवस्थामा यही मार्च १३ तारिकमा कार्यान्वयनका लागि अगाडि बढेकोमा अमेरिकाको वासिंटनडिसीमा बसेको विश्व बैंकको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए।

बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठुलो क्षति हुनबाट जोगियो

केपिलासगढी गाउँपालिका–२, खार्तम्छास्थित  बालाबेँसीमा एयर डाइनेस्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौंबाट पाँचजना यात्रु लिएर आज (बुधबार) मध्याह्न १२ बजेर दुई मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकोप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

सुझावित समाचार