नवलपुरको मध्यविन्दुमा ग्यास अभाव

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

देशभर ग्यासको अभाव गरिएका समाचारहरू बाहिर आउन थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बजार अनुगमनलाई तीव्रता दिएको छ। मंगलबार गैँडाकोट र देवचुली नगरपालिकामा अनुगमन गरेको प्रशासनको टोलीले बुधबार कावासोती र मध्यविन्दु नगरपालिकामा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योति अर्यालले जानकारी दिए ।

उनले चारवटै नगरपालिकाभित्र रहेका ग्यास उद्योग र सप्लायर्सहरूमा अनुगमन गरिएको बताए। अनुगमनमा कालोबजारी नदेखिएको र मध्यविन्दु नगरपालिकाबाहेकमा ग्यासको अभाव नभएको अर्यालले बताए।

अनुगमनको क्रममा मध्यविन्दुमा भने ठुला सप्लायर्स नहुँदा केही समस्या भएको देखिएको अर्यालले जानकारी दिए।

ग्यासको अभाव हुने ठानी ग्राहकहरू आत्तिएर धेरैतिरबाट ग्यासका सिलिन्डर खरिद गर्न खोज्नेहरूका कारण केही समस्या भए पनि व्यवस्थापन गर्ने गरेको सप्लायर्सहरूले बताएका छन्।

यसैबिच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी ग्यासको कृत्रिम अभाव नगराउन अपिल गरेको छ। कृत्रिम अभाव गराएको पाइए कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको छ।

होटेल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष रानासहितको टोलीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै बजारमा ग्यासको कृत्रिम अभाव गराइएको भन्दै त्यसलाई रोक्न माग गरेको थियो।

अमेरिका, इरान युद्धपछि नेपालमा ग्यासको अभाव हुन नदिन सरकारले आधा सिलिन्डर ग्यास आधा मूल्यमा बजार पठाउने निर्णय गरेको छ। सोहीअनुसार बजारमा आधा सिलिन्डर वितरण गर्ने गरिएको छ।

सुझावित समाचार