पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरण : ५५ मध्ये ३४ प्रतिवादी उपस्थित, पाँचजनासँग धरौटी माग, बाँकी साधारण तारेखमा

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा हालसम्म ३४ जना विशेष अदालतमा उपस्थित भएका छन् । अझै १६ जना उपस्थित हुन बाँकी रहेको र सबै उपस्थित भएपछि यो मुद्दा नियमित सुनुवाइमा जाने विशेष अदालतले जनाएको छ ।उपस्थित भएकामध्ये अदालतले पाँचजनासँग धरौटी माग गरेको छ । बाँकी सबैलाई साधारण तारेखमा राख्न आदेश गरेको छ । विशेषका अनुसार सुशील घिमिरे, सुमनकुमार श्रेष्ठ, रञ्जनकृष्ण अर्याल, मुरारी भण्डारी र प्रदीप अधिकारीसँग धरौटी मागको आदेश भएको तथा अन्य सबैले साधारण तारेखमै रहेर मुद्दा पुर्पक्ष गर्न पाउने भएका छन् । विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले यस्तो आदेश दिएको थियो ।

विशेषका अनुसार अधिकारीसँग पाँच लाख रुपैयाँ र मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी मागको आदेश भएको थियो । यद्यपि, अधिकारी भने अर्कै मुद्दाका कारण अझै थुनामै छन् । उनीहरू दुवैजना २३ पुसमा उपस्थित भएका थिए । विमानस्थलको निर्माण बहुवर्षीय रहेको तथा परियोजनासम्बन्धी विभिन्न निकाय तथा पदाधिकारीबाट विभिन्न निर्णय र कार्य भएकोमा अधिकारी आयोजना प्रमुखका रूपमा ०७१ देखि ०७४ सम्म रहेका थिए । साथै, ०७८ माघदेखि भने प्राधिकरणको महानिर्देशक थिए । भण्डारी प्राधिकरणको इन्जिनियरको हैसियतमा विमानस्थलको प्रारम्भिक खरिद प्रक्रियामा टेन्डरसँग सम्बन्धित कार्यमा संलग्न भेटिएको थियो । यसरी उनीहरू दुईजनाको हकमा धरौटी मागको आदेश भएको थियो । 

यसैगरी, १२ पुसमा तीनजना उपस्थित 
भएकोमा उनीहरूसँग पनि धरौटी मागको आदेश भएको थियो । विशेषका अनुसार प्रतिवादीहरू सुशील घिमिरे, सुमनकुमार श्रेष्ठ र रञ्जनकृष्ण अर्यालसँग धरौटी मागको आदेश भएको छ । घिमिरेसँग एक लाख ५० हजार र श्रेष्ठ तथा अर्यालसँग क्रमशः एक–एक लाख रुपैयाँ धरौटी माग भएको विशेषले जनाएको छ ।उपस्थित भएका अन्य प्रतिवादी भने साधारण तारेखमा छन् । विशेषका अनुसार अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय र महेशकुमार बस्नेत १६ पुसमा अदालत उपस्थित भएका थिए । उनीहरूका साथै नारायण गिरी, बाबुराम पौडेल, ऋषिकेश शर्मा, मुक्तिनारायण पौडेल, मुकुन्दप्रसाद भण्डारी, गंगासागरमान श्रेष्ठ, लोकबहादुर खत्री, रुद्रप्रसाद फुयाँल र प्रतापबाबु तिवारी साधारण तारेखमा छन् । 

मदन खरेल, लालबहादुर खत्री, कमलकुमार भट्टराई र हंसराज पाण्डेय तथा भेषराज शर्मा, कुलप्रसाद सिंखडा, द्वारिकाप्रसाद भट्टराई, सुरेशमान श्रेष्ठ, सुरेश आचार्य पनि साधारण तारेखमै छन् । विशेषका अनुसार दीपकचन्द्र अमात्य, मधुकर मरासिनी, रामचन्द्र सुवेदी, सुमनप्रसाद शर्मा, प्रेमनाथ उपाध्याय र मोहनकृष्ण सापकोटालाई पनि अदालतले साधारण तारेखमा रहेर मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको छ । यसबाहेक सूर्यप्रसाद आचार्य र त्रिरत्न मानन्धरको हकमा पनि यस्तै आदेश भएको विशेषले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको दाबीसहित गत २१ मंसिरमा मुद्दा दर्ता गरेको थियो । यस मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तत्कालीन चारजना मन्त्री र तत्कालीन अर्थमन्त्री रामशरण महतसमेत प्रतिवादी छन् । 

 निर्माण कम्पनी अदालतमा उपस्थित
विमानस्थल निर्माण कम्पनीका प्रतिनिधि विशेष अदालतमा उपस्थित भएका छन् । एमएस चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडका तर्फबाट अख्तियार प्राप्त रविन रिजाल मंगलबार निवेदन लिई उपस्थित भएका हुन् । प्राधिकरणसँगको मिलेमतोमा बदनियतपूर्वक लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाइएको अभियोग कम्पनीउपर छ । कम्पनीसमेतको संलग्नतामा अनुमान संशोधन भएको तथा त्यसैअनुसार सम्झौता भएको दाबी अख्तियारले गरेको छ । यसमाथि विशेषका सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले धरौटी मागको आदेश गरेको हो । उक्त इजलासले २५ लाख रुपैयाँ धरौटी माग गरी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । 

सुझावित समाचार