पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कारण बन्द रहेको प्याराग्लाइडिङ खेल चार वर्षपछि फेरि सुरु हुने भएको छ । साहसिक र मनोरञ्जनका लागि उडाइने प्याराग्लाइडिङ ०७९ पछि पोखराको आकाशमा बन्द गरिएको थियो । बन्द हुनुअघि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पथ्र्यो । तथ्यांकअनुसार त्यसवेला हरेक दिन १२ सयजनासम्मले प्याराग्लाइडिङको मजा लिन्थे ।
तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि बन्द भएको थियो । यसैगरी, ०७९ कात्तिकमा पोखरामै भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको सोलो उडानका क्रममा निसिम थापाको निधन भएपछि पनि उडान बन्द भयो । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा २१औँ संस्करणको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियसिप ५ देखि ७ चैतसम्म हुने भएको छ ।
यसअघि २०औँ संस्करण २३ देखि २५ चैत ०७८ मा भएको थियो । सोलो उडान खुला भएसँगै प्रतियोगिता हुन लागेको आयोजकका अध्यक्ष अनिल केसीले जानकारी दिएका छन् । च्याम्पियनसिपको तयारी ९० प्रतिशत सकिएको उनले बताए । आयोजकले पोखरामा दुईपटक प्याराग्लाइडिङको प्रि–विश्वकप र प्याराग्लाइडिङ एसियन टुरसमेत आयोजना गरिसकेको छ ।
एफएआई क्याटोगरी २ अन्तर्गत हुने च्याम्पियनसिपमा एक्युरेसी पुरुष (ओभरअल), एक्युरेसी महिला (ओभरअल) र टिम (ओभरअल) गरी तीन विधामा प्रतिस्पर्धा हुने संयोजक सुनीलबहादुर भट्टराईले जानकारी दिए । पहिलो हुनेले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । महिलातर्फको टिम विजेताले ७५ हजार रुपैयाँ जित्नेछ । उपविजेताले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपबाट दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशको प्याराग्लाइडिङ खेलाडीसमेत छनोट गरिने भट्टराईले बताए ।
आठ राष्ट्रका सय पाइलटले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा आठ राष्ट्रका सय पाइलटले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक नेपालसँगै भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटली र लेबनानका पाइलटले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धीले सराङकोटबाट उडान भरी खपौदीमा अवतरण गर्नेछन् । यसैगरी, व्यावसायिक रूपमा खुलेका प्याराग्लाइडिङ कम्पनीको संख्या अहिले ६० रहेको छ । कम्पनीमा व्यावसायिक रूपमा उडान भर्न लाइसेन्स लिने पाइलटहरूको संख्या ३६६ रहेको आयोजकले जनाएको छ । मौसमको अवस्था, हावाको चाप र दिशा, तापक्रमसँगै सम्भावित जोखिम सबै अध्ययनबारे सहभागीलाई जानकारी दिएर मात्र खेल हुने केसीले बताए । सहभागी सबै खेलाडीको अनिवार्य बिमाको व्यवस्थासमेत गरिएको छ ।