सांसदको सपथपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांसदको शपथपछि बस्ने संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने बताएका छन् । पार्टीका सांसदलाई मंगलबारदेखि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यससम्बन्धी जानकारी दिएका हुन्।
‘सांसदको शपथपछि तत्कालै संसदीय दलको बैठक बस्छ, त्यही बैठकले दलको नेता चयन गर्छ,’ उनले भने, ‘त्यसपछि मात्र प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढ्छ ।’ विशेष परिस्थिति नभएकाले सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । यस विषयमा पार्टीभित्र समेत छलफल भइसकेको बुर्लाकोटीले बताए।
रास्वपाले बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । संसदीय दलको नेता चयन भएपछि मात्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । हालैको निर्वाचनमा रास्वपाले बहुमत ल्याएकाले संसदीय दलको नेता चयनपछि राष्ट्रपतिलाई पत्राचार गर्नेछ ।
एमालेलाई प्रधानमन्त्रीको सान्त्वना !
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छिन्।
मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर उनले धन्यवाद दिएकी हुन्। एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला प्रधानन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए।
भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु।’
निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना दिएकी छिन्। उनको भनाइ थियो, ‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’
रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ सकिएन, बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ भएको छ। तर, बहस नसकिएपछि मुद्दा बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार घोडेजात्राको सार्वजनिक बिदा भएकाले अब बिहीबार सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ। उक्त इजलासले उस्तै माग भएका तीनवटै रिट एकसाथ सुनुवाइ गरिरहेकोमा हेर्दाहेर्दैमा राखिएको छ। युवराज पौडेल सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीसमेत तीनजनाले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ।
राइड सेयरिङका दुईसहित ललितपुरमा लागुऔषध सेवन गर्ने ६ चालक पक्राउ
लागुऔषध सेवन गरेर सवारी चलाउने ६ चालक ललितपुरमा पक्राउ परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा ट्राफिक प्रहरीले मंगलबार गरेको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मिनी ट्रकचालक दुईजना, मोटरसाइकल (राइड सेयिरिङ) चालक दुईजना र स्कुटरचालक दुईजना छन्।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिइएका चालकहरूमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले बताए।
सबइन्जिनियरको करार अवधि थप्न मेयरले बुझे बैंक खातामै एक लाख घुस
सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनले बैंक खातामै सहायक सबइन्जिनियर मोहन शाहसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ।
आर्थिक वर्ष ०८१–८२ मा शाहको करार सेवा थप गर्न मेयर वादीले एक लाख घुस लिएका थिए।
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोजना गरिएको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे विस्तृत जानकारी प्रदान गरिनेछ। साथै पार्टीले अवलम्बन गर्नुपर्ने नीति तथा रणनीतिबारे पनि छलफल हुने जनाइएको छ।
लुम्बिनीमा ५ मन्त्रालयको पुँजीगत खर्च १० प्रतिशतभन्दा कम
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च जम्मा २५ दशमलव ४० प्रतिशत गरेको छ । यहाँ एउटा मन्त्रालयले पुँजीगततर्फ यस अवधिमा एक प्रतिशत पनि खर्च गर्न सकेको छैन। ५ वटा मन्त्रालयको खर्च १० प्रतिशतभन्दा कम रहेको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालय लुम्बिनीका अनुसार पुँजीगततर्फ एक प्रतिशत पनि खर्च गर्न नसक्ने मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेका छ । यस मन्त्रालयले ९ लाख ८१ हजार ३ सय १९ अर्थात शून्य दशमलव ५९ प्रतिशत मात्रै खर्च गरेको छ ।
तीन वर्षमा इलामको पाथीभरा मन्दिरमा चार करोड भेटी र ८ तोला सुन संकलन
इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा तीन वर्ष एक महिनामा ४ करोडभन्दा बढी भेटी र ८ तोला सुन संकलन भएको छ। सानो पाथीभरा मन्दिरको नामले परिचित यो मन्दिरमा भक्तजनले चडाएको भेटीबापत चार करोड ६४ लाख २५ हजार ७८२ रुपैयाँ भेटी संकलन भएको हो।
यस्तै, यो अवधिमा ८ तोला १२ आना १ लाल सुन पनि संकलन भएको रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले जानकारी दिए । यस्तै, ३०७ तोला चाँदी, एक हजार ३७ केजी काँसको घण्टी, ५३२ केजी तामाको त्रिशूल, १०६ केजी तामाको लोटी, २९१ केजी तामाको दियो, १११ केजी तामाको माना-पाथी, २२ केजी पित्तलको थाली/प्लेट/बत्ती र २८ केजी झर्के थाल/लोटा संकलन भएको अध्यक्ष स्याङ्बोले बताए। १ फागुन ०७९ बाट रोङ गाउँपालिकाले पाथीभरा मन्दिरको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाएर गाउँपालिकाले यो मन्दिर सञ्चालन गर्दै आएको छ । उक्त मन्दिरबाट संकलन भएको भेटी गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा हुँदै आएको अध्यक्ष स्याङ्बोले बताए । उक्त आम्दानी र त्यसमा गाउँपालिकाबो बजेटबाट थप गरेर गाउँपालिकाबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत पूर्वाधार, विकास र संरक्षणमा लगानी गर्दै आएको उनले बताए ।
ठमेलमा होटेल चलाउने चिनियाँ नागरिक हुन्डीको १० लाखसहित पक्राउ
ठमेलमा होटेल व्यवसाय गर्ने चिनियाँ नागरिक हुन्डीको १० लाख रुपैयाँसहित पक्राउ परेका छन्। ५३ वर्षीय तान जियाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।
उनी ज्याठामा होटेल चलाउँदै आएका छन्। होटेलको आवरणमा अवैध आर्थिक कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पिएम कप गण्डकी प्रदेश छनोट क्रिकेटको उपाधि कास्कीलाई
कास्कीले जिल्लाले प्रधानमन्त्री (पिएम) कप गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि हात पारेको छ। गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै घरेलु टोली कास्कीले उपाधि हात पारेको हो।
खेलमा टस जितेर ब्याटिङ रोजेको कास्कीले ५० ओभरमा ८ विकेटको क्षतिमा २४० रनको विशाल योगफल तयार गरेको थियो। २४१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रेको नवलपुर ४३.२ ओभरमा १० विकेट गुमाएर १९२ रनमा सीमित हुन पुगेको थियो ।