छिमेकीको हत्या गरेको अभियोगमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बैजनाथ गाउँपालिका ५, छमनियाका ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँका ५५ वर्षीय सीताराम थारू रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी दीपक पातलीले जानकारी दिए। `खेतमा भएको मसुरोको विषयमा भएको सामान्य विवादमा सीतारामले भगवनीलाई हँसिया प्रहार गरेको अनुसन्धानबाट खुलेको छ,' उनले भने।
वादविवादको क्रममा सीतारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए। `हँसियाले घाँटी र टाउकोमा प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भयो,' डिएसपी पातलीले भने। सीतारामलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको उनले जानकारी दिए।