लागुऔषध सेवन गरेर सवारी चलाउने ६ चालक ललितपुरमा पक्राउ परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा ट्राफिक प्रहरीले मंगलबार गरेको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मिनी ट्रकचालक दुईजना, मोटरसाइकल (राइड सेयिरिङ) चालक दुईजना र स्कुटरचालक दुईजना छन्।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिइएका चालकहरूमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले बताए।
यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा नियमविपरीत तथा दण्डनीय कार्य भएकोले सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने हुनाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल खबर गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।