विश्वका लागि राम्रो हुन सक्छ अहिलेको तेल संकट

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

यही ९ मार्चमा करिब चार वर्षपछि तेलको मूल्य फेरि प्रतिब्यारेल १०० अमेरिकी डलर नाघ्यो । पश्चिम एसियामा अमेरिका–इजरायलले इरानमाथि सुरु गरेको युद्ध तत्काल अन्त्यको कुनै संकेत नदेखेपछि पछिल्लो समय तेलको मूल्य उकालो लाग्न थालेको हो । ‘स्ट्रेट अफ हर्मुज’वरपरका देशमा देखिएको तनावले बढाएको तेलको मूल्य दीर्घकालीन रूपमा कायम रहने सम्भावना भने छैन ।

सन् १९७३ को पहिलो तेल संकटले ‘बेबी–बुमर’(दोस्रो विश्वयुद्धको अन्त्यदेखि सन् १९६४ बिच जन्मिएको पुस्ता)को जीवनलाई आकार दियो । अरब क्षेत्रका तेल निर्यातकर्ता देशले त्यतिवेला क्यानडा, जापान, नेदरल्यान्ड्स, बेलायत र संयुक्त राज्य अमेरिकालाई तेल आपूर्ति बन्द गरेपछि तेलको मूल्य चार गुणासम्म बढ्न पुग्यो । सन् १९७९ मा दोस्रो तेल संकट इरानी क्रान्तिपछि देखापर्यो । प्रमुख तेल उत्पादक इरानमा अमेरिकाविरोधी सत्ताको आगमनपछि मानिसले ठुलो परिमाणमा तेल भण्डारण गर्न थालेपछि त्यतिवेला तेलको मूल्य बढेको थियो । 

त्यसपछि सन् १९८०–८८ बिच भएको इरान–इराक युद्धमा फेरि विश्वव्यापी तेल आपूर्तिमा धक्का लाग्दा सन् १९८० को दशकभरि तेलको मूल्य नाटकीय रूपमा बढ्यो । अहिलेको संकट भने अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले तेल ट्यांकरहरूलाई स्ट्रेट अफ हर्मुजमा रोक्दा उत्पन्न भएको हो । सो साँघुरो समुद्री मार्गबाट बाहिरिने कतार, इराक र कुवेतजस्ता प्रमुख उत्पादक राष्ट्रहरूको तेल रोकिँदा आपूर्ति घटेको छ ।

तथ्यांक र इतिहास दुवैले अहिलेको संकटले विश्वलाई तेलबाट अन्य ऊर्जातर्फको संक्रमणलाई तीव्र बनाउने संकेत गर्छ 

तथ्यांक र इतिहास दुवैले अहिलेको संकटले विश्वलाई तेलबाट अन्य ऊर्जातर्फको संक्रमणलाई तीव्र बनाउने संकेत गर्छ । यदि युद्ध थप विस्तार भयो र तेल संकट हप्तौँ नभएर महिनौँ लम्बियो भने तेलको प्रयोग घटाउने दबाब बढ्नेछ । यही दबाबले चीनमा विद्युतीय कारको उत्पादनमा समान गति बढाउन सघाउनेछ । सन् १९७३ को पहिलो तेल संकटले धेरै पश्चिमी देशमा दैनिक जीवनलाई बाधा पु¥याएको थियो । इन्धन अभावले संयुक्त राज्य अमेरिका र युरोपका धेरै सहर तेलमा कोटा लगाउनेदखि आपतकालीन संरक्षण कदम चाल्न बाध्य भएका थिए । पेट्रोल पम्पमा लामो लाइन देखिन्थ्यो ।

हामीमध्ये एक लेखक आफैँले त्यतिवेला अमेरिकामा तेल संकटको अनुभव गरेको थियो, जहाँ पेट्रोल पम्पमा पाँच किलोमिटर लामो लाइन बनेको थियो । कैयौँ ठाउँमा मानिसले अरूको कारबाट पेट्रोल चोरेको घटना बाहिरिएका थिए । संकट कम गर्न इन्धनको सीमित तथा किफायती प्रयोग बढाउन दिइयो । तेलमाथिको निर्भरता घटाउने उपायबारे जनचेतना अभियान नै चलाइयो । पहिलो र दोस्रो तेल संकट नजिक–नजिक भएकाले तेल उपयोग घटाउनेसम्बन्धी कुराले झन्डै डेढ दशक महत्व पायो । 

तर, सन् १९९० मा तेलको मूल्य प्रतिब्यारेल ४० मा झरेपछि पुरानो किफायती प्रयोग परित्याग गरियो । तर, सन् २००८ वरपर चीनको तीव्र आर्थिक वृद्धिसँगै तेलको माग बढ्दा र अमेरिकाको तेल उत्पादन ह्वात्तै झर्दा तेलको मूल्य प्रतिब्यारेल रेकर्ड १४७ डलरसम्म पुग्यो । परिणामस्वरूप विश्वभर महँगी बढ्दा अर्थतन्त्र नै धराशायी हुनपुग्यो । आर्थिक मन्दीले तेलको माग घट्न थालेपछि फेरि केही महिनामै तेलको मूल्य ३० डलरसम्म झर्यो । तेलको मूल्यमा हुने उतारचढाव अर्थतन्त्रका लागि राम्रो मानिँदैन । त्यसमाथि विश्वव्यापी जलवायु नीतिका कारण पनि तेलको प्रतिस्थापन अहिलेको आवश्यकता पनि हो । 

हामीले ऊर्जा संक्रमण कति छिटो भइरहेको छ भनेर हेर्नका लागि जीवाश्म इन्धन प्रयोग र नवीकरणीय स्रोतहरूको प्रयोगको प्रवृत्ति हेरौँ । यसले नवीकरणीय ऊर्जाको प्रयोग बढेको देखाउँछ । एक अनुमानअनुसार नवीकरणीय ऊर्जाको अवलम्बनले द्रुत गति लिँदा सन् २०३० सम्ममा यो विश्वको प्रमुख इन्धन स्रोत बन्ने देखाउँछ । सम्पूर्ण यातायात प्रणालीको विद्युतीकरणले तीव्रगति र नवीकरणीय ऊर्जाको उत्पादन वृद्धिले अब भविष्यमा तेलको विकल्प अन्यको प्रयोग हुने संकेत देखाएको छ । तेलको माग घट्दै गएर सन् २०३० को दशकमा तेलको मूल्य प्रतिब्यारेल ४०–६० डलरसम्म हुने सम्भावना छ । यो मूल्यमा आएको गिरावट तेल सुरक्षित भएर नभई हाम्रो अर्थतन्त्र नै यसप्रति कम निर्भर हुने कुराले आउनेछ । 

सरकार, नगर प्रशासन र व्यवसायहरूले पछिल्लो तेल संकटबाट बाहिरिने उपाय मात्र ध्यान दिनुहुँदैन । यस्तो रणनीति भविष्यमा अर्को दुर्घटनाको पर्खाइ मात्र हुनेछ । तिनले यातायातको विद्युतीकरणमा दोब्बर प्रयास लगाउनुपर्छ, जसलाई द्रुत रूपमा विस्तार भइरहेको नवीकरणीय उत्पादन र भण्डारणले सघाउ पुर्यायोस् । विश्वकै लागि अस्थिर समुद्रीमार्ग र भूराजनीतिक उतारचढावका लहरमा पर्ने इन्धनको सट्टा घाम, ब्याट्री र तारहरूमा निर्भर हुनु उत्तम विकल्प हो । हामीले यस उत्तम विकल्प छानेर हरेक दशकजसो आउने नयाँ तेल झट्काबाट छुट्कारा पाउन सक्छौँ ।
(पिटर न्युम्यान ‘कर्टिन विश्वविद्यालय’का दिगोपन विषयका प्रोफेसर हुन् भने विल्स वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका सहायक प्राध्यापक हुन्)
 द कन्भरसेसनबाट

सुझावित समाचार