तस्करी नियन्त्रण गर्न व्यवसायीको आग्रह

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

उद्योगी–व्यवसायीले सीमानाकामा हुने तस्करी नियन्त्रण तथा व्यापार सहजीकरण गर्न सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग आइतबार छलफल गर्दै यस्तो आग्रह गरेका हुन् ।संघले उद्योग–व्यापारको सुरक्षा, तस्करी नियन्त्रण तथा व्यवसाय प्रवद्र्धनका विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको हो ।

सीमा क्षेत्रमा बढ्दो तस्करी, उद्योग–व्यवसायको सुरक्षा, ट्राफिक व्यवस्थापन तथा व्यापार सहजीकरणका विषयमा उद्योगी–व्यवसायी र सुरक्षाकर्मीबिच छलफल भएको संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । वैध रूपमा व्यापार गर्ने व्यवसायीलाई सुरक्षाकर्मीले सहयोग गर्नुपर्ने र अवैध व्यापारमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने अध्यक्ष आचार्यले बताए । सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै व्यापारिक वातावरण सुरक्षित बनाउन प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा उठाइएका विषयप्रति प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले निरन्तर सक्रिय भूमिका खेलेको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले उद्योगी–व्यवसायीका समस्या र मर्मप्रति प्रहरी प्रशासन सधैँ सचेत रहेको बताउँदै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

सुझावित समाचार