राप्तीले महिला लिग खेल्न नपाउने

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता– २०८२ बाट राप्ती एएफसीलाई हटाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार नौ क्लबका पदाधिकारीबिचको बैठकपछि एन्फाले राप्तीलाई लिग खेल्न नदिने निर्णय गरेको हो । यसअघि वालिङ नगरपालिकाले आफ्नो नाम फिर्ता लिएपछि एन्फाले छनोट प्रतियोगितामा छैटौँ स्थानमा रहेको राप्तीलाई गत २६ फागुनमा लिगमा सहभागी हुन पत्राचार गरेको थियो । 

राप्ती राष्ट्रिय लिग खेल्न तयार भएपछि एन्फाले गत बिहीबार खेल तालिका सार्वजनिक भएको थियो । खेल तालिका सार्वजनिक भएको तीन दिनपछि एन्फाले राप्तीलाई पुनः लिगका लागि अयोग्य ठहर गरेको हो । ‘सहभागी क्लबहरूको बैठकमा बहुमतले राप्तीलाई सहभागी हुन नदिन जोड दिएका थिए । हामी बहुमतको निर्णयमा गएका हौँ,’ एन्फाका सिइओ इन्द्रमान तुलाधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छनोट प्रतियोगितामा असफल क्लबलाई खेल्न दिन नहुने प्रमुख माग थियो ।’ 

छनोट प्रतियोगिताको प्लेअफमा झापाले राप्तीलाई १–० ले पराजित गरेको थियो । राप्ती र झापा आ–आफ्ना समूहको तेस्रो स्थानमा रहँदै अन्तिम छनोटका लागि प्रतिस्पर्धा गरेका थिए । एन्फाका अनुसार सहभागी क्लबका पदाधिकारीले राप्तीको सहभागिता नियमविपरीत भएको भन्दै विरोध जनाए । राष्ट्रिय महिला लिग खेल्न राप्तीले सबै तयारी गरिसकेको छ । तर, अन्तिममा आएर खेल्न नपाउँदा एन्फाले अन्याय गरेको क्लबले जनाएको छ । 

‘केन्द्रकै निर्देशनमा लिग खेल्ने तयारी सुरु भइसकेको थियो । खेलाडीको सबै व्यवस्थानसमेत भइसकेको थियो, तर एन्फाले एक्कासि लिग खेल्न नपाउने जानकारी दियो,’ क्लबले भनेको छ । एन्फाका सिइओ तुलाधरले सहभागी अन्य क्लबको दबाबमा नै निर्णय गर्न बाध्य भएको बताए । ‘ बैठकमा सहभागी अन्य नौ क्लबका पदाधिकारीको माग पराजित टोलीलाई खेलाउन नहुने थियो,’ उनले भने । 

एन्फाले गत बिहीबार सार्वजनिक गरेको खेल तालिकामा च्यासल मैदानमा ४ चैतमा न्युरोड टिम (एनआरटी) र संकटाबिच उद्घाटन खेल हुने उल्लेख थियो । राप्तीले सहभागिता नजाउने भएपछि एन्फाले नयाँ खेल तालिका निकाल्ने तयारी गरेको छ । महिला राष्ट्रिय लिग आगामी वर्षको १२ वैशाखसम्म सिंगल राउन्ड रोबिन पद्धतिमा हुनेछ । लिगमा ४५ खेल हुनेछन् । 

गत सिजन सुपर स्टेजमा प्रतिस्पर्धा गरेका पाँच र भदौमा सम्पन्न छनोट प्रतियोगिताबाट छानिएका पाँच गरी १० टोली लिगमा सहभागी हुने तय थियो । गत सिजन 
सुपर स्टेजमा साबिक विजेता एपिएफ एफसी, नेपाल पुलिस, त्रिभुवन आर्मी, बागमती युवा र वालिङ नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए । छनोट प्रतियोगिताबाट संकटा एफसी, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा र झापा एफसी छानिएका थिए ।

विदेशी खेलाडीमाथि राखेपको प्रश्न ? 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय लिगमा विभिन्न क्लबको जर्सीमा मैदानमा प्रतिस्पर्धा गरिरहेका विदेशी खेलाडीको कानुनी भूमिका प्रस्ट पार्न एन्फासँग जानकारी मागेको छ । राखेपअन्तर्गत संघ तथा संस्था समन्वयन शाखाका प्रमुख इन्द्रकुमार राईले ११ टोलीका विदेशी खेलाडीको जानकारी माग गरेका हुन् । नेपालको प्रचलित कानुन तथा एन्फाको आफ्नै नियमअनुसार श्रम स्वीकृतिविना कुनै पनि विदेशीले व्यावसायिक रूपमा नेपालभित्र काम गर्न नपाउने नियम भए पनि जारी राष्ट्रिय लिगमा पर्यटक भिसामा रहेर क्लबहरूले विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन् ।पर्यटक भिसामा रहेका विदेशी खेलाडी मैदानमा उत्रिएको भन्दै उजुरी परेपछि राखेपले एन्फाको नाममा खेलाडीहरू कस्तो भूमिकामा रहेर खेलिरहेका छन् भन्ने विषयमा विस्तृत विवरण तत्काल पेस गर्न पत्राचार गरेको हो ।

एन्फाको आयोजनामा गत ३० मंसिरदेखि चलिरहेको राष्ट्रिय लिगमा सहिद स्मारक ‘ए’ डिभिजनका १४ मध्ये १३ तथा एन्फा प्रेसिडेन्ट्स लिगबाट छानिएका चार गरी १७ टोलीले सहभागिता जनाइरहेका छन् । यो लिग ३० चैतसम्म चल्नेछ । त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लबले विदेशी खेलाडी राखेका छैनन् । यसबाहेक प्रेसिडेन्ट्स लिगबाट राष्ट्रिय लिगलाई छानिएका नवजागृति र काँक्रे बिहार क्लब छन् ।

‘एन्फाले गत ३० मंसिरदेखि राष्ट्रिय लिग सञ्चालन गर्दै आएको र सो प्रतियोगितामा १७ वटा टोलीको सहभागिता रहेकोमा सहभागी टिमले विदेशी खेलाडीलाई श्रम स्वीकृति वा इजाजत नलिई पर्यटक भिसामा खेल खेलाइरहेकाले छानबिन गरी कारबाही गरिपाऊँ भनी उजुरी परेको छ,’ राईले भनेका छन्, ‘यस सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको प्राप्त बोधार्थ पत्रानुसार श्रम ऐन, २०७४ को व्यवस्थाअनुसार श्रम नियमावली, २०७५ को व्यवस्थाबमोजिम श्रम इजाजत नलिई विदेशी कामदारलाई काममा लगाउन नपाइने व्यहोरा विदितै छ भनी लेखिआएको जानकारी गराइन्छ,’ राखेप संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईद्वारा प्रेषित पत्रमा उल्लेख छ, ‘सो सम्बन्धमा उक्त प्रतियोगितामा माथि उल्लेख भएअनुसार श्रम स्वीकृति/इजाजत लिई वा नलिई कुन–कुन क्लबबाट कुन–कुन देशका विदेशी नागरिक के–कस्तो भूमिकामा सहभागी छन् ? नामावलीसहित विस्तृत विवरण परिषद्मा यथाशीघ्र पेस गर्न हुन जानकारीको लागि अनुरोध छ ।’

फिफा र एएफसीलाई पूर्वअध्यक्ष थापाको पत्र
एन्फाका पूर्वअध्यक्ष गणेश थापाले नेपाली फुटबलको वर्तमान अवस्थाबारे जानकारी गराउन फिफा र एफसीका अध्यक्षलाई पत्र पठाएका छन् । १५ मार्चमा पठाइएको पत्रमा थापाले जियानी इन्फान्टिनो र शेख सलमान विन इब्राहिमलाई एन्फाभित्र देखिएको प्रशासनिक संकट समाधानका लागि ध्यान दिन आग्रह गरेका छन् । पत्रमा थापाले नेपालमा चर्चामा रहेको ‘तेस्रो पक्षको हस्तक्षेप’को आरोप सही नभएको उल्लेख गरेका छन् । थापाका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारले एन्फाको काममा हस्तक्षेप नगरेको, बरु एन्फाले आफ्नै कंग्र्रेसले गरेको निर्णय कार्यन्वयन गर्नुपर्ने माग मात्रै गरिएको बताएका छन् । थापाले एन्फाको निर्वाचन प्रक्रियाको आधार मानिने जिल्लास्तरका निर्वाचनहरू नगरीकन आगामी चुनावको प्रक्रिया अघि बढाइँदै गएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

सुझावित समाचार