संविधानको शक्ति : संसद् विविध समुदायको फूलबारी

२७५ सदस्यीय प्रतिनिधिसभामा खसआर्य १३५, जनजाति ५६, मधेशी ४५, दलित १७, थारू नौ र मुस्लिम समुदायबाट १४ जनाको प्रतिनिधित्व हुँदै, राष्ट्रिय मान्यताप्राप्त ६ दलबाट कुल ९६ महिला सांसद

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

संविधानले सुनिश्चित गरेको समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले फेरि एकपटक संघीय संसद्को प्रतिनिधिसभालाई विविध समुदायको साझा फूलबारी बनाएको छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले संसद्मा महिला, दलित, आदिवासी–जनजाति, मधेशी, थारू, मुस्लिम तथा ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायको उल्लेखनीय उपस्थिति सुनिश्चित गराएको छ । यससँगै उनीहरूले राष्ट्रिय नीति–निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी हुने अवसर पाउने भएका छन् । 

यस व्यवस्थाले संसद्लाई केवल राजनीतिक शक्ति प्रदर्शन र सरकार गठनको अंकगणितमा मात्र सीमित नराखी सामाजिक विविधता, समान अवसर र लोकतान्त्रिक सहभागिताको सशक्त प्रतिबिम्ब बन्ने आधार प्रदान गरेको छ । परिणामतः प्रतिनिधिसभा आज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजको वास्तविक आकृतिलाई समेट्ने संस्थाका रूपमा देखिएको छ ।

यसैअनुसार समानुपातिकतर्फ प्राप्त सिटका लागि दलहरूले बन्दसूचीबाट उम्मेदवारको नाम निर्वाचन आयोगमा पेस गरेका छन् । आयोगले २८ फागुनमा समानुपातिक मतपरिणामअनुसार सिट बाँडफाँट गर्दै थ्रेसहोल्ड कटाउने ६ वटा दललाई बन्दसूचीमा रहेका उम्मेदवारको नाम पठाउन तीन दिनको समय दिएर पत्राचार गरेअनुसार दलहरूले समावेशी समूहको अनुपात मिलाई उम्मेदवारको नाम पठाएका हुन् । 

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५७, कांग्रेस २०, एमाले १६, नेपाली कम्युनिस्ट पार्टी नौ, श्रम संस्कृति पार्टी चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट प्राप्त गरेका छन् । ‘दलहरूले समानुपातिक सिटका लागि बन्दसूचीबाट उम्मेदवार छनोट गरी नामावली पेस गरेका छन् । खामबन्दी गरेर पेस गरेकाले भोलि आयोगको रोहवरमा खोलेर जाँचबुझ हुन्छ । जाँचबुझ गरेर भोलि नै निर्वाचित भएको घोषणा हुन्छ,’ समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञ भट्टराईले भने । उनका अनुसार बन्दसूचीमा उल्लेखित समावेशी समूहको क्रमअनुसार उम्मेदवारको नाम पठाउनुपर्छ । पिछडिएको/अपांगताको हकमा भने क्रम संख्याभन्दा अगाडि ल्याउन मिल्छ । 

सोहीअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा खसआर्य १३५, जनजाति ५६, मधेशी ४५, दलित १७, थारू नौ र मुस्लिम १३ जनाको प्रतिनिधित्व हुने देखिएको छ । समग्रमा ९६ महिला छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको रास्वपा १८२ सिटसहित पहिलो दल बनेको छ । रास्वपाबाट खसआर्य ९५, जनजाति २८, मधेशी ३६, दलित नौ, थारू ६ र मुस्लिम आठजना छन् । समग्रमा ६१ महिला छन् ।

 यस्तै, कांग्रेसको प्रत्यक्ष १८ र समानुपातिक २० सिट छ । कांग्रेसबाट खसआर्य १७, जनजाति १२, मधेशी तीन, दलित तीन, थारू एक र मुस्लिम एक जना छन् । समग्रमा १६ महिला छन् । तेस्रो स्थानमा एमालेले प्रत्यक्ष नौ र समानुपातिक १६ गरी २५ सिट हासिल गरेको छ । खसआर्य १०, जनजाति सात, मधेशी तीन, दलित दुई, थारू एक र मुस्लिम एक जना छन् । समग्रमा १० महिला छन् ।

चौथो नेकपाले प्रत्यक्ष आठ र समानुपातिक नौ गरी १७ सिट हासिल गरेको छ । नेकपाबाट संसद्मा खसआर्य नौ, जनजाति तीन, मधेशी दुई, दलित दुई र थारू एक छन् । समग्रमा ४ महिला छन् । यस्तै, पाँचौँ शक्ति श्रम संस्कृतिले प्रत्यक्ष तीन र समानुपातिक चार गरी सात सिट पाएको छ । संसद्मा उसको तर्फबाट खसआर्य एक, जनजाति चार, मधेशी एक र दलित एक छन् । समग्रमा ३ महिला छन् । राप्रपाले प्रत्यक्ष एक र समानुपातिक चार गरी पाँच सिट प्राप्त गरेको छ । संसद्मा उसको तर्फबाट खसआर्य तीन, जनजाति एक र मुस्लिम एकजना छन् । राप्रपाबाट समग्रमा २ महिला संसद् पुगेका छन् । यस्तै, एकजना स्वतन्त्र निर्वाचित भएका छन् । म्याग्दीबाट निर्वाचित महावीर पुन जनजाति समुदायका हुन् । 

यसैगरी, संघीय संसद्को अर्काे सदन राष्ट्रिय सभामा ११ माघको निर्वाचनपछि अंकगणित फेरिएको छ । २५ सिटसहित कांग्रेस पहिलो दल छ । नेकपाको १८, एमाले ११, जसपा तीन, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत एक सदस्य छन् । दुवै सभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले र नेकपाको संघीय संसद्मा क्रमशः ६३, ३६, ३५ सिट पुगेको छ । राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व छैन ।

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञ भट्टराईले भने–जाँचबुझ गरेर सोमबार नै निर्वाचित भएको घोषणा हुन्छ
दलहरूले समानुपातिक सिटका लागि बन्दसूचीबाट उम्मेदवार छनोट गरी नामावली पेस गरेका छन् । खामबन्दी गरेर पेस गरेकाले भोलि (सोमबार) आयोगको रोहवरमा खोलेर जाँचबुझ हुन्छ । क्लस्टर मिले–नमिलेको जाँचबुझ गरेर सोमबार नै निर्वाचित भएको घोषणा हुन्छ ।

 बिहीबारसम्म राष्ट्रपतिकहाँ पुग्छ अन्तिम मतपरिणाम, अनि हुनेछ सरकार गठन आह्वान
क्लस्टरअनुसार दलहरूले पठाएको समानुपातिक सांसद टुंगो लगाएपछि निर्वाचन आयोगले अन्तिम मतपरिणाम प्रतिवेदन तयार गर्छ ।  उक्त प्रतिवेदन राष्ट्रपति कार्यालयमा पठाउँछ । राष्ट्रपति कार्यालयबाट मतपरिणाम प्रतिवेदन संसद् सचिवालयमा पठाइन्छ भने राष्ट्रपतिले बहुमतप्राप्त दललाई सरकार गठनको आह्वान गर्नेछन् । ठुलो दल रास्वपाले संसदीय दलको नेता चुनेर प्रधानमन्त्रीको दाबी गर्नुपर्छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिएको थियो । बहुमतप्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेपछि नयाँ सरकार गठन हुनेछ । मतपरिणाम सार्वजनिक भएको एक महिनाभित्र संसद् बैठक बस्छ । पहिलो बैठकमा पहिला ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिन्छन् र त्यसपछि उनले अन्य सदस्यलाई शपथ खुवाउँछन् ।

सुझावित समाचार