डिजिटल वालेटमार्फत डेढ लाखभन्दा बढी घुस लिने कार्यालय सहयोगीलाई एक वर्ष कैद

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहयोगी घुस मुद्दामा दोषी पाइएका छन्। आइतबार विशेष अदालतले डिजिटल वालेटमार्फत घुस लिने इन्द्रजित गुरुङलाई सजाय सुनाएको हो।

गुरुङले उक्त कार्यालयमा सेवा लिन आउने सुरज पाठकको नामको इसेवा क्युआर प्रयोग गरी घुस लिएको विशेषको ठहर छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत ३० जेठमा नियन्त्रणमा लिएको थियो भने उनको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद नियन्त्रणमा लिइएको थियो।

यसै मुद्दामा विशेषका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले फैसला गरेको हो। साढे दुई महिनाअघि दायर यस मुद्दाका प्रतिवादी गुरुङलाई एक वर्ष कैद र १ लाख ६१ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने सजाय तोकेको छ। साथै, झन्डै साढे ६ हजार रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको विशेषले जनाएको छ।

गुरुङले पाठकको इसेवामा सेवाग्राहीहरूलाई घुस जम्मा गर्न लगाउने र त्यहाँबाट आफ्नो बैंक खातामा पठाउन लगाउने गरेको भेटिएको थियो। दुईजना सेवाग्राहीहरूबाट घुस लिएको रकम पुष्टि भएपछि सर्वोच्चले सजाय सुनाएको हो।

अख्तियारमा उजुरी परेपछि अनुसन्धान हुँदा गुरुङले ब्लुबुक नवीकरण, जाँचपास, परमिट, पञ्जीकरणजस्ता कार्यका लागि यातायात कार्यालय पुग्नेहरूबाट घुस लिने गरेको भेटिएको थियो। आफू कर्मचारी भएकाले समस्यामा पर्ने डरले कार्यालयको कर्मचारी नरहेको र जिम्मेवारीसमेत नपाएको बाहिरी व्यक्तिलाई घुसको संकलन र व्यवस्थापनमा खटाएका थिए। गुरुङले यातायात कार्यालयमा करारमा नियुक्ति दिने प्रलोभनमा पारी पटक-पटक ती व्यक्तिलाई घुस लिन लगाएको खुलेपछि गत १४ पुसमा मुद्दा दायर भएको थियो।

सुझावित समाचार