दक्षिण कोरियाको सबैभन्दा घातक उड्डयन दुर्घटनाको व्यवस्थापनमाथि प्रश्न उठ्दै गर्दा दक्षिण कोरियाली प्रहरीले यातायात मन्त्रालयको मुख्यालयमा छापा मारेको छ ।
जेजु एयरको उडान नम्बर २२१६ सन् २०२४ को डिसेम्बर २९ मा मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट बाहिर निस्किएपछि कंक्रिटको संरचनामा ठोक्किँदा भएको दुर्घटनामा विमानमा सवार १८१ जनामध्ये दुईजनाबाहेक सबैको मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट बोइङ ७३७–८०० मा चरा ठोक्किएको र कंक्रिटको ढिस्कोमा धसारिँदा मृतकको संख्या बढेको पत्ता लागेको छ । अनुसन्धानकर्ताले हालै थप शरीरका अंग र पीडितका सामान फेला पारेपछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार थप अनुसन्धान गर्न आदेश दिएका छन् ।
प्रहरीले दुर्घटनाको कारण र अधिकारीले यसलाई राम्ररी सम्हालेका छन् कि छैनन् भन्नेबारे नयाँ तथ्य खोज्दै शुक्रबार मध्य सहर सेजोङमा रहेको यातायात मन्त्रालयको कार्यालयमा अनुसन्धान गरेको समाचार एजेन्सी योनहापले रिपोर्ट गरेको छ ।
छापा दुर्घटनाको मुख्य सरकारी अनुसन्धानसँग जोडिएको थियो । नतिजा यस वर्षको मध्यसम्ममा घोषणा गरिने भएको छ । तर, विभिन्न एजेन्सी र दक्षिण कोरियाली संसद्द्वारा अन्य समानान्तर अनुसन्धान पनि सुरु गरिएको छ ।
हालैका महिनामा अनुसन्धानकर्ताले शरीरका अंग र पीडितका सामान फेला पारेका छन्, जुन बोरामा राखिएका थिए र दुर्घटनास्थलबाट संकलन गरिएका भग्नावशेषका बोरासँगै भण्डारण गरिएका थिए ।