त्यतिवेला ग्रिसमा दासप्रथा चरम अवस्थामा थियो । बजारमा हट्टाकट्टा दासको खुब किनबेच हुन्थ्यो । एक दिन एक कन्जुस धनी मालिकले सस्तो दाममा एक कुरूप दास किनेर ल्याए ।
दासलाई घरमा ल्याउनेबित्तिकै उनकी पत्नीको रिसको सीमा रहेन । दास निकै कुरूप थिए, त्यसैले उनी पतिसँग अति रिसाएकी थिइन् । ती दासको एउटा आँखा फुटेको थियो । दाँत भाँचिएको थियो । ढाडमा ठुलो कुम्लो उठेको थियो । अनुहार यति नमिलेको थियो कि उनलाई देख्दा केटाकेटी डराएर भाग्थे । ती पत्नीले पतिलाई जति गाली गरे पनि पतिचाहिँ केही बोलेनन् । किनकि, गुलामको कुरूपताका कारणले उनीहरूले तिनलाई सस्तोमा पाएका थिए ।
बिस्तारै ती दासले घरका सबै काम सम्हाल्न थाले । उनी बिहान सबेरै उठ्थे, सफा पारेर भाँडाकुँडा माझ्थे । मालिक–मालिक्नीका लागि चिलिम भर्थे । साथै साँझमा बालबालिकालाई फकाएर रोचक कथाहरू सुनाउँथे ।
केही दिनपछि ती धनी मानिसको घरमा मानिसको भिड नै लाग्न थाल्यो । सबै तिनै दासका रमाइला कथा सुन्न लालायित थिए । अब कोही पनि उनको अनुहार देखेर डराउँदैनथे । सबै उनले आज कस्तो शिक्षाप्रद कथा सुनाउलान् भनेर पर्खेर बस्थे ।
गुलामको कथाको ख्याति ग्रिसका बादसाहको कानमा पनि पुग्यो । आखिर एक दिन बादसाह पनि ती धनी मानिसको घरमा पुगे र उनको कथा सुन्न बसे । बादसाहले पनि कथा निकै मन पराए । जाने समयमा बादसाहले ती दासलाई इनाम दिन खोजे । तब ती दासले भने, ‘धन्यवाद महाराज, मलाई कुनै इनाम चाहिँदैन । मेरा लागि उचित इनाम यही हुनेछ कि मैले सुनाएका सबै कथा लेखेर एउटा पुस्तक बनाइयोस्, ताकि म यो संसारबाट गइसकेपछि पनि बालबालिकासँगै बस्न सकूँ ।’ ती दासको कुरा स्विकारियो र छिट्टै दास इसपका कथा घरघरमा पढिन थाल्यो ।