जिल्ला प्रशासन कार्यालय सिराहाले खाना पकाउने ग्यासको अतिरिक्त भण्डारण गरी जोखिम नबढाउन आग्रह गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो केही दिनयता खाना पकाउने ग्यासको अतिरिक्त मूल्य लिई बिक्री-वितरण र अस्वाभाविक ढंगले भण्डार गर्नेजस्ता गुनासोको आधारमा त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन्।
ग्यासको अभाव हुन सक्ने हल्लाले सर्वसाधारणहरू स्थानीय डिलरहरूमा लाइन लाग्न थालेपछि कतिपय ठाउँमा कम तौलको ग्यास बिक्री गर्ने, ग्यास हुँदाहुँदा छैन भन्दै हैरानी सास्ती दिने, भरिएको सिलिन्डरको पनि सिल खोलेर खाली सिलिन्डर हो भनी बिक्री नगर्ने गुनासो आएको सूचनामा उल्लेख छ । सूचनाको बर्खिलाफ हुने गरी ग्याँस बिक्री-वितरणसम्बन्धी कार्य गरे गराएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको आयात र बिक्री-वितरण गर्दै आएको नेपाल आयल निगमले आधिकारिक रुपमा पेट्रोलियम पदार्थको अभाव नहुने जिकिर गरिरहेको भएपनि मध्यपूर्वमा पछिल्लो दुई सातादेखि जारी द्वन्द्वको कारणले ग्यास अभाव हुन सक्ने कृत्रिम हल्ला फैलिएपछि स्थानीय ग्यास डिलरहरुमा सर्वसाधारणहरूको लामो लाइन लाग्न थालेको छ । त्यही मौकामा कतिपय डिलर सञ्चालकहरूले ग्यास अभाव देखाउँदै दोब्बरभन्दा पनि बढी मूल्य लिएर बिक्री गरिरहेको सर्वसाधारणको गुनासो छ ।