- तत्कालीन राजा महेन्द्रले भादगाउँले वा कालो टोपी लगाइदिएपछि व्यवसायीले फुर्सद नै पाएनन् । हजारौँले रोजगार पाए । सिंहदरबार छिर्दा पनि कालो टोपी अनिवार्य गर्दा नेपालीले नै रोजगारी पाए । अहिले त्यस्तो छैन ।
जस्तो भूगोल उस्तै वास्तु, जस्तो वास्तु उस्तै संस्कृति, जस्तो संस्कृति उस्तै पहिरन, भादगाउँले टोपी वा तकुवा तपुली यसको उदाहरण हो । भादगाउँले टोपीको इतिहास दुई हजार वर्ष पुरानो हो । नेवा:हरू नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यकाका रैथाने हुन् । इतिहासको कालखण्डमा कोही उत्तर, कोही दक्षिणतिरबाट आए, जो जहाँबाट आएका भए पनि यहाँको धर्म, संस्कृति, रहनसहन, खानपान, भाषालाई जसले आत्मसात गरे, सबै नेवा: भए । त्यतिवेला नेवा: भनेको कुनै जातिविशेष थिएन । अहिले मात्र यो जातिविशेषमा रूपान्तरण हुन पुग्यो । उनीहरूले यहाँको जस्तो भौगोलिक विशेषता छ, त्यसलाई आधार मानेर एउटा शिरपोस (सिरको पहिरन) टोपी निर्माण गरे । जुन तकुवा तपुलीको नामले पनि प्रचलित थियो ।
इतिहासको कालप्रवाहमा तकुवा तपुली वा भादगाउँले टोपी नेपाली राष्ट्रिय पहिरनको रूपमा देखा पर्न गयो । नेपालको पहिचान दिने थुप्रै मूर्त, अमूर्त सम्पदा छन् । त्यसमध्ये यो टोपी पनि एक हो । नेवा:ले यसलाई तकुवा तपुली भन्छन् । कालो टोपी भएकाले यसको मुख्य विशेषता भनेकै कालो धागो तकेर बनेको हुन्छ । यसलाई हाकु तपुली, कालो टोपी पनि भनिन्छ । यो टोपीको केन्द्र भादगाउँ अर्थात् भक्तपुर नै हो ।
ढाकाटोपी र कालोटोपीमा केही भेद छन् । करिब तीन सय वर्षसम्म भक्तपुर नेपालको राजधानी नगरको रूपमा रह्यो । राजनीतिक विखण्डन आइसकेपछि पनि १३औँ शताब्दीतिर नेपालको राजधानी नगरको रूपमा भादगाउँ रह्यो । पूर्व मध्यकालसम्म पनि यो नेपाल मण्डलको राजधानीकै रूपमा थियो । यो टोपी भादगाउँमा बनेर सबैले लगाउने भएकाले नेपालीको पहिचान भयो ।
विसं.१८२६ मा गोरखा राज्य विस्तारपछि नेवा: संस्कृति अवरुद्ध हुन पुग्यो । त्यसपछि परम्पराको रूपमा मात्र रहन पुग्यो । तर, सत्ताले साथ छाडे पनि संस्कृतिले साथ छाडेन । कतिपय परम्पराको रूपमा पछिसम्म प्रचलनमा आयो । जीविकाको माध्यमकै रूपमा यो पनि प्रचलनमा आयो । भक्तपुरका नेवा:हरू आफ्नो थातथलो छाडेर कोही पश्चिम, कोही पूर्वतिर लागे । तर, उनीहरूसँग सिप थियो । सिपलाई सम्मान गरेर उनीहरूले निरन्तरता दिए । मध्यकालतिरै भक्तपुरका नेवा:हरू पाल्पातिर पनि गएका थिए ।
यसरी विस्तार भयो भादगाउँले टोपी
गोर्खाको आक्रमणपछि उपत्यका छाड्ने लहर चल्यो । सोही समयताका रणबहादुर शाहले बिफर रोग उन्मूलन गर्न भन्दै भर्खर जन्मिएका बच्चालाई तामाकोशीमा फाल्न पठाए । आफ्नै रगतलाई कसले फालेर आउन सक्छ ? त्यही सन्दर्भमा कोही कता कोही कता लागे । पूर्व मध्यकालमा पाल्पाली राजा मुकुन्द सेनले पनि उत्यकामा आक्रमण गरे । यहाँको संस्कृतिबाट उनी पनि प्रभावित भए । त्यही वेला एकथरी नेवा: पाल्पातिर लागे । यहाँबाट पाल्पा गएका नेवा:ले पनि जीवन त चलाउनुपर्यो । उनीहरू ढाकाटोपी बनाउन खप्पिस थिए । त्यसैक्रममा यो टोपी नेवा: वा गैरनेवा: सबैले रुचाए ।
कतिपयले ढाकाको टोपी बंगलादेशको राजधानी ढाकाबाट आयो भन्ने पनि गर्छन् । जुन वेला नेपालमा ढाकाटोपी स्थापित थियो, त्यतिवेला बंगलादेशको उत्पत्ति नै भएको थिएन । ढाकाबाट ल्याएको कपडाबाट बनेको ढाकाटोपी हो भन्ने भ्रम छ । यो ढाकाटोपी अर्थात् धाका तपुली हो । भाषा विज्ञानको दृष्टिले तानमा बुनेको कपडाबाट तयार पारिएको टोपीलाई धाका तपुली भनिन्छ । ढाकासँग धाका टोपीको कुनै लेनदेन छैन । पछि ढाकासँग नेपालको व्यापार सुरु भयो । कपडा उताबाट ल्याउन थाले । तर, टोपीसँग कुनै सम्बन्ध छैन ।
अहिले पनि पशुपति मन्दिर क्षेत्रको जयवागेश्वरीमा रहेको टुँडालमा खर्पन बोकेर गइरहेको जोडी देखिन्छ । त्यो टुँडालमा भएको आकृतिमा भादगाउँले वा ढाकाटोपी लगाइदिएको देखिन्छ । यसले के देखाउँछ भने मध्यकालतिरै भादगाउँले वा कालो टोपी लगाउन सुरु भएको देखिन्छ । देवस्थलमा भक्तहरूले सालिक पनि चढाउने चलन थियो । त्यतिवेला भक्तले चढाएको धातुलगायतका सालिकलाई नियाल्ने हो भने पनि त्यस्तै टोपी देखिन्छ । त्यसैले, ढाकाटोपी लगाउने प्रचलन लिच्छविकालतिरै थियो । किनभने, लिच्छविकालदेखिको नेपालको इतिहास स्पष्ट छ ।
ती टोपी नेपालका मौलिक आविष्कार हुन् । संसारको जुनसुकै ठाउँमा जाऔँ, यदि शिरमा कालो टोपी वा भादगाउँले टोपी छ भने नेपाली रहेछ भन्ने पहिचान बन्छ । ढाकाटोपी अहिले आएर पाल्पाको पहिचान बन्न पुग्यो । यहीँबाट गएका नेवा:ले ढाकाटोपी विकसित गरे, सबैले लगाइदिए । अहिले पनि ढाकाटोपी भन्नेबित्तिकै पाल्पासँग जोडेर हेरिन्छ । भाँदगाउँले टोपी भन्नेबित्तिकै भक्तपुरको सम्झना आइहाल्छ । भक्तपुरको अनेक नाममध्ये भादगाउँ पनि हो । यो कालोटोपीको वास्तविक आविष्कारकर्ता भादगाउँ हो ।
यो टोपीको बजार न राम्रो छ, न नराम्रो नै । पहिला यसको बजार धेरै राम्रो थियो । मैले कालो टोपीबारे अध्ययन गर्ने क्रममा व्यवसाय गर्नेसँग सोध्दा कुनै वेला भादगाउँले टोपी बनाउन भ्याई–नभ्याई थियो । हजारौँले रोजगारी पाएका थिए । तत्कालीन राजा महेन्द्रले भादगाउँले वा कालो टोपी लगाइदिएपछि व्यवसायीले फुर्सद नै पाएनन् । हजारौँले रोजगार पाए । सिंहदरबार छिर्दा पनि कालो टोपी अनिवार्य गर्दा नेपालीले नै रोजगारी पाए । अहिले त्यस्तो छैन ।
वर्तमानमा नेपाली टोपीको ठाउँ विदेशी टोपीले पनि लिन थाल्यो । त्यसैले, पहिलेको तुलनामा यो टोपीको प्रयोगमा ह्रास आएको छ । कालो टोपी र ढाकाटोपी बनाउने मौलिक चलनमा सांस्कृतिक अतिक्रमण भएको हो कि जस्तो लाग्छ । भादगाउँले टोपी जसले जसरी बनाए पनि भयो । तर, मौलिक रूपमै बनाइदिए हुन्थ्यो । त्यो मौलिकतालाई ध्यान दिने हो भने सिप मर्दैन । सिप मर्यो भने टोपी बुन्ने रैथाने प्रविधि पनि मर्छ । सिप मरेन भने हजारौँ, लाखौँ टोपी बनाउन सकिन्छ । अहिले थोरै मानिसले मात्रै टोपी लगाउँछन् । युवा पुस्तामा यसको प्रभाव पुग्न सकेको छैन, उनीहरू क्यापमा रमाउन थालेका छन् । नेपालमै पनि नाम चलेका लोकप्रिय व्यक्तिले सार्वजनिक कार्यक्रममा त्यस्तो टोपी लगाइदिने हो भने धेरैले रोजगार पाउने थिए ।