राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यवसायलाई थप सहजीकरण गरेको छ । संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले स्थायी चालू पुँजी आवश्यकताका लागि आवधिक प्रकृतिको कर्जा दिनुपर्नेछ । यस्तो कर्जाको भुक्तानी अवधि भने बैंकलाई निर्धारण गर्न पाउने सुविधा दिइएको छ । यसअघि स्थायी चालू पुँजीका लागि दिइने कर्जाको अवधि तीन वर्षदेखि १० वर्ष अनिवार्य गरिएको थियो । अब भने समयावधि तोकिएको छैन ।

उद्योगले कच्चा पदार्थ खरिद गर्ने, तयार वस्तु उत्पादन गर्ने, कर्मचारीलाई तलब–भत्ता वितरण गर्ने, मौज्दात सामग्रीमा लगानी गर्नेलगायतका शीर्षकमा खर्च गर्न बैंकबाट छोटो अवधिका लागि कर्जा लिने गर्छन् । यस्तो कर्जा लिएर व्यवसाय गर्नका लागि अहिले राष्ट्र बैंकले थप सुविधा दिएको हो । यसअघि प्रवाह भइसकेका स्थायी चालू पुँजीका आवधिक कर्जालाई ऋणीको नगद प्रवाह र वित्तीय विवरणको विश्लेषण गरेर ०८३ असार मसान्तभित्र एकपटक मात्र पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । यस्तो पुनर्तालिकीकरणलाई भने कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थापनको हिसाबले पुनर्तालिकीकरण मानिनेछैन ।

राष्ट्र बैंकले दुई करोड रुपैयाँसम्म (उत्पादनमूलक उद्योगका लागि चार करोड रुपैयाँसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने व्यवसायीका लागि पनि व्यवस्था परिमार्जन गरेको छ । अब त्यस्ता ऋणीको हकमा स्थायी चालू पुँजी आवश्यक देखिएमा बैंकहरूले तरल प्रकृतिको चालू पुँजीका लागि एक वर्षभन्दा कम अवधिको कर्जा र स्थायी आवश्यकताका लागि आवधिक चालू पुँजी कर्जा प्रदान गर्न सक्नेछन् । यसअघि यस्तै अवस्थामा स्थायी चालू पुँजीका लागि तीनदेखि १० वर्ष अवधिको कर्जा दिनुपर्ने स्पष्ट प्रावधान थियो ।

संशोधनले ‘क्यास क्रेडिट’ कर्जा खातामा नयाँ अनुशासन पनि लागू गरेको छ । अब आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार सात दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम बक्यौता कायम भएको हुनुपर्नेछ । यसअघि यस्तो व्यवस्था चरणबद्ध रूपमा लागू हुने भनिएको थियो । पहिलो वर्ष ३० प्रतिशत, दोस्रो वर्ष २० प्रतिशत र तेस्रो वर्षपछि १० प्रतिशतभन्दा कम बक्यौता कायम हुनुपर्ने प्रावधान थियो । संशोधित मार्गदर्शनले व्यवसायको वास्तविक चालू पुँजी आवश्यकता पहिचान गर्न, कर्जाको संरचना स्पष्ट बनाउन र बैंकिङ प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।

राजमार्ग विस्तारबाट प्रभावित व्यवसायीले ब्याजको १० प्रतिशत तिरेर भाका सार्न पाउने

पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम–व्यवसायमा प्रवाहित कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाइने भएको छ । ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलेर यस्तो गर्न पाउने भएका छन् । यस्तो पुनर्तालिकीकरण तथा पुनर्संरचना पनि आगामी असार मसान्तभित्र गरिसक्नुपर्ने उल्लेख छ ।

यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ, कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भनिएको छ ।

सुझावित समाचार