नेवारपानीमा टेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १९, नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ६ः१० बजे हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ख ९९२३ नम्बरको टेलर र चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि टेलरचालक स्टेयरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए । स्थानीयको सहयोगमा उनको उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको हो। उनको टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेकाे अवस्थामा उनलाई अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

मृतक सर्लाहीको बरहथवा नगरपालिका– १५, पिपराभिट्टा घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका– २, छपकैया बस्दै आएका करिब ३८ वर्षीय गोविन्द चौधरी रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले बताए । यस्तै, ट्रकचालक चितवनको खैरेनी नगरपालिका– ९ निवासी करिब ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेका छन् । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय नेवारपानीमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार अविरल वर्षापछि लागेको बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार