- नेपालका धेरै युवा वैदेशिक रोजगारबाट फर्किँदा मिर्गौला रोगको अन्तिम चरणमा पुगिसकेका हुन्छन्
विश्व मिर्गौला दिवसको यस वर्ष (सन् २०२६)को नारा अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको छ, ‘सबैका लागि मिर्गौला स्वास्थ्य : मानिसको हेरचाह, पृथ्वीको संरक्षण ।’ यसले हामीलाई मिर्गौलाको स्वास्थ्य केवल मधुमेह वा उच्च रक्तचापजस्ता रोगसँग मात्र सम्बन्धित नभएको सम्झना गराउन खोजेको छ । बरु, यो हाम्रो वातावरण, जलवायु परिवर्तन र काम गर्ने अवस्थासँग पनि सम्बन्धित रहेको यसले जोड दिएको छ ।
मिर्गौला रोगको बढ्दो भार
नेपालमा दीर्घकालीन मिर्गौला रोगका बिरामी निरन्तर बढिरहेका छन् । मधुमेह र उच्च रक्तचाप यसको प्रमुख कारण हो । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका कामदारमा मिर्गौलाको समस्या उच्च दरमा देखिन थालेको छ । ‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (एसडिएनटिसी)’मा गरिएको एक अनुसन्धान अनुसार नेपालमा मिर्गौला फेल भएर उपचारमा आएका बिरामीमध्ये करिब एकतिहाइ बिरामी वैदेशिक रोजगारबाट फर्किएका कामदार छन् । यो अत्यन्त गम्भीर तथ्यांक हो ।
मिर्गौला रोग मुख्यत: अत्यधिक गर्मी देशमा काम गर्ने वैदेशिक श्रमिकमा बढी देखिन्छ । प्राय: निम्न काममा संलग्न हुने ती मानिस सुरक्षा गार्ड, बाहिरी श्रमिक, बगैँचाका कामदार, समुद्री किनारको निगरानीजस्ता पेसामा संलग्न पाइएको छ । यी पेसामा लामो समयसम्म चर्को घाममा काम गर्नुपर्ने हुन्छ । पर्याप्त पानी पिउन नपाउनु, आरामको अभाव र स्वास्थ्य परीक्षणको कमीले मिर्गौलालाई हानि गर्छ । एसडिएनटिसीमा गरिएको अध्ययनअनुसार रोग देखिएका २१७ वैदेशिक श्रमिकमध्ये ५६.२ प्रतिशत खाडी देशबाट फर्किएका थिए । उक्त संख्याको दुईतिहाइले ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रममा काम गरेको पाइएको छ । ७५ प्रतिशतभन्दा बढीले दैनिक १० घन्टाभन्दा बढी काम गर्ने गरेको तिनले बताए । र, अध्ययनमा सहभागीमध्ये ७८.१ प्रतिशतले दैनिक दुई लिटरभन्दा कम पानी पिएको पाइयो ।
सर्वेक्षणमा सहभागीमध्ये २२.४ प्रतिशतले ‘नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स (एनएसएआइडिएस)’जस्ता दुखाइ निवारक औषधीको प्रयोग गर्ने गरेको इतिहास भेटियो । अझ त्यसमध्ये पनि २३.५ प्रतिशतले दिनमै तीनपटकसम्म दुखाइ निवारक औषधीको प्रयोग गरेको बताए । नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्सको लामो समय गरिने प्रयोगले उच्च रक्तचाप, मिर्गाैला समस्या, पेटका समस्या र तरल पदार्थ भण्डारणसँग सम्बन्धित रोग निम्त्याउँछ ।
लगभग एकतिहाइ (३९.५ प्रतिशत) उत्तरदाताले तिर्खा लागेको वेलासमेत कामको चापले पानी नपिएको पाइयो । अझ ४०.५ प्रतिशतले पिसाबले च्यापेको वेलासमेत कहिलेकाहीँ पिसाब गर्न छुटाउनुपर्ने अवस्थाबारे बताए । यस अध्ययनमा सहभागी लगभग सबै विदेशमा काम गरेर फर्किएका २०–४९ वर्ष उमेर समूहका आप्रवासी श्रमिक थिए । यसै पनि यो मानिसको जीवनको सबैभन्दा उत्पादनशील आयु समूह हो । त्यसभित्र पनि ४१.५ प्रतिशत ३०–३९ वर्षको र ९४.५ प्रतिशत पुरुष थिए । लगभग आधा (४९.३ प्रतिशत)लाई अन्तिम चरणको मिर्गौला रोग (इएसकेडी) पहिचान भएर देश फर्काइएको पाइयो । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (एसडिएनटिसी)’मा मिर्गौला प्रत्यारोपण गरेका लगभग एकतिहाइ (२८.९ प्रतिशत) व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको पाइएको छ ।
गर्मीको प्रभाव र मिर्गौला क्षति
लामो समयसम्म उच्च तापक्रममा काम गर्दा धेरै पसिना निस्किने भएकाले शरीरमा बारम्बार ‘पानीको कमी (डिहाइड्रेसन)’ हुन्छ । शरीरमा पानीको कमी हुँदा मिर्गौलामा जाने रक्तप्रवाह घट्छ र मिर्गौलामा अत्यधिक दबाब पर्छ । यस्तो अवस्था पटक–पटक दोहोरिँदा तीव्र मिर्गौला चोट (एक्युट किड्नी इन्जुरी) हुन सक्छ, जुन मिर्गौलाको दीर्घ रोगमा परिणत हुन सक्छ ।
विश्वव्यापी रूपमा पनि गर्मीजन्य मिर्गौला रोग (हिट–स्ट्रेस नेफ्रोप्याथी) बढ्दो समस्या बनिरहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदै जाँदा जोखिम अझ बढिरहेको छ । नेपालका धेरै युवा वैदेशिक रोजगारबाट फर्किँदा मिर्गौला रोगको अन्तिम चरणमा पुगिसकेका हुन्छन् । यसले उनीहरू मात्र होइन, उनीहरूको परिवार र देशको अर्थतन्त्रमा पनि गम्भीर असर पार्छ । गर्मी मात्र होइन, प्रदूषणले पनि शरीरमा दीर्घकालीन सुजन र रक्तचाप बढाएर मिर्गौलामा क्षति पुर्याउन सक्छ ।
मिर्गौला रोगको उपचार पनि स्रोत–साधनको दृष्टिले गम्भीर विषय हो । डायलाइसिस जीवनरक्षक उपचार हो । मिर्गौला प्रत्यारोपण अन्तिम चरणको मिर्गौला रोगको सबैभन्दा प्रभावकारी उपचार हो । सफल प्रत्यारोपणपछि बिरामी सामान्य जीवनयापन गर्न र पुन: सक्रिय जीवन बिताउन सक्छ । नेपालले अंग प्रत्यारोपण क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । तर, रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो ।
विशेषगरी, वैदेशिक रोजगारमा जाने कामदारको नियमित स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्छ । यसअन्तर्गत विदेश जानेलाई पर्याप्त पानी पिउने कुराको महत्व बुझाउनुपर्छ । काम गर्ने स्थानमा आराम र छायाको व्यवस्थाबारे जानकारी लिन प्रोत्साहित गर्नुपर्छ । त्यस्तै, शरीरको तौलको नियन्त्रण गर्ने, धूम्रपान र मदिराको सेवन घटाउने वा त्याग्ने कुराले पनि शरीर र मिर्गौला स्वास्थ्य राख्न भूमिका खेल्छ ।
त्यसबाहेक सरकारले आवश्यक परे विदेशमा धेरै नेपाली काम गर्ने क्षेत्रमा श्रमिक सुरक्षासम्बन्धी नीतिगत सुधार गर्न पहल गर्न सक्छ । जोखिम समूहमा नियमित मिर्गौला परीक्षण गर्न आह्वान गर्नेदेखि विश्वव्यापी पर्यावरण संरक्षणमा सहभागी भएर बृहत्तर रूपमा मिर्गौलाको समस्या कम गर्न भूमिका खेल्न सक्छ ।
वरिष्ठ मिर्गौला प्रत्यारोपण विज्ञ डा. श्रेष्ठ ‘धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र’का पूर्वनिर्देशक हुन् ।