इन्टरनेसनल स्कुललाई एलबिए भलिबल कपको उपाधि

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको एलबिए भलिबल प्रतियोगिताको उपाधि इन्टरनेसनल पब्लिक स्कुलले पाएको छ। लिटिल बुद्ध एकेडेमी (एलबिए)ले महेन्द्रनगर कभर्डहलमा आयोजना गरेको ‘एलबिए भलिबल प्रतियोगिता ०८२’को उपाधि इन्टरनेसनल पब्लिक स्कुलले पाएको हो । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारा अघि सारेर लिटिल बुद्ध एकेडेमीले कञ्चनपुर भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरेको थियो । 

२३ फागुनदेखि कभर्डहलमा सञ्चालन भएको भलिबल प्रतियोगिताको बुधबार सम्पन्न फाइनल प्रतियोगितामा आयोजक एलबिएको टिमलाई हराउँदै इन्टरनेसनलले उपाधि चुमेको हो ।  फाइनल प्रतियोगितमा इन्टरनेसनलले ३–१ को सेटले आयोजक एलबिएलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको थियो । पुनर्वासको लक्ष्मी माविले तृतीय स्थानमा चित्त बुझाएको छ । 

लिटिल बुद्ध एकेडेमी (एलबिए)का प्रिन्सिपल श्यामसिंह मौनीले नेपालको राष्ट्रिय खेलका साथै मौलिक खेलकुद प्रतियोगिता प्रवर्द्धनका साथै अन्तरविद्यालयबिच प्रतिस्पर्धाको भावना जागृत गराएर भलिबललाई समेत विद्यालय तहबाटै जागरण गराउने उद्देश्य रहेको बताए । साथै एलबिएको १९औँ वार्षिकोत्सवको अवसर पारेरसमेत उक्त प्रतियोगिता आयोजना गरिएको छ । 

विजेता इन्टरनेसनल पब्लिक स्कुलले ७५ हजार, उपविजेता आयोजक एलबिएले ५० हजार र सान्त्वना अर्थात तृतीय स्थान सुरक्षित पारेर लक्ष्मी माविले २५ हजार नगदका साथै प्रमाण पत्र, ट्रफी, मेडल पाएका थिए । विजेता टिमलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निजी विद्यालयस्तरबाट सञ्चालित यति ठुलो प्रतियोगिताले भलिबल खेलकुदका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । एलबिएले शैक्षिकका साथै खेलकुद प्रतियोगितामा समेत विविध कार्यक्रम गर्दै आएको छ ।  
 

सुझावित समाचार