विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले बुधबार हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) २०२६ मा सहज जित निकालेका छन् ।
नेपाल बास्केटबल संघको आयोजनामा दशरथ रंगशालाको कभर्ड हलमा मंगलबारदेखि सुरु भएको लिगको उद्घाटनमा आर्मीले केभिसी हाउन्ड्सलाई १०७–७९ ले पराजित गरेको हो । खेलमा आर्मीले पहिलो क्वार्टरमा २९–१७, दोस्रो क्वार्टरमा २४–२२, तेस्रो क्वार्टरमा २८–२१ र चौथो क्वार्टरमा २३–१९ को अग्रता बनाएको थियो ।
आर्मीको जितमा निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गरे । पहिलो संस्करणमा सहभागी नभएको आर्मीले दोस्रो संस्करणका लागि छनोट प्रतियोगिता खेलेको थियो । छनोट खेलको उपाधि जित्दै आर्मीले राष्ट्रिय लिगमा स्थान बनाएको हो ।
दोस्रो खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साबिक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२–७५ पराजित निराश बनायो । पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
टाइम्सले पहिलो क्वार्टरमा २५–१८ को अग्रता लियो । तर, गोल्डेनगेट दोस्रो क्वार्टर २५–१९ र तेस्रो क्वार्टर ३०–१० ले आफ्नो पक्षमा पार्दै ७३–५४ को अग्रताका साथ अगाडि बढ्यो । चौथो क्वार्टरमा टाइम्सले २१–१९ ले आफ्नो पक्षमा पारे पनि जित निकाल्न सकेन ।