बेनीमा महिला भलिबलकी कप्तान अरुणा शाहीको प्रतिमा अनावरण

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको योगदानको कदर स्वरुप म्याग्दी सदरमुकाम बेनीमा उनको प्रतिमा अनावरण गरिएको छ। रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको गरिमा बढाउन भूमिका खेलेकोमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले उनको प्रतिमा तयार गरेको हो।

समितिले शाहीको दुई हातमा भलिबल रहेको ५ फिट ८ इन्च उचाईको फाइबरबाट निर्मित प्रतिमा अनावरण गरेको हो। उक्त प्रतिमालाई बेनीस्थित उपयुक्त सार्वजनिक ठाउँमा स्तम्भको रुपमा राखिने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए। उनका अनुसार सहयोगदाताहरुबाट आर्थिक संकलन गरी खेलाडी शाहीको प्रतिमा निर्माण गरिएको हो।

प्रतिमाको अनावरण गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सबैले देख्ने गरी उपयुक्त ठाउँमा राख्ने र यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याउने बताए। शाहीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डसहित विभिन्न प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेकी छिन्। म्याग्दीको माटोमा जन्मिएर राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व गर्न पाउनु आफ्नो गौरवको विषय भएको र गृहजिल्लामा प्रतिमा स्थापना गरी सम्मान गरेकोमा शाहीले आभार प्रकट गरिन्।

सन् २०१३ मा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी शाहीको कप्तानीमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत, च्यालेन्ज कपमा कास्य पदक जितेको छ। साथै, नेपालले इतिहासमै पहिलोपटक भारतलाई काभा वुम्नस नेसन्स लिगमा पराजित गर्नुका साथै १९औँ एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली एसियामा डेब्यु गरेको थियो।

शाहीले नेपाली राष्ट्रिय महिला भलिबलको कप्तानी सम्हालेयता नेपालले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा लगातार सफलता हासिल गर्दै आएको छ। डेढ दशकदेखि  भलिबल खेल्दै आएकी शाहीले गण्डकी प्रदेशको टिमको नेतृत्व गर्दै प्रदेशभित्रका खेलाडीको हौसला बढाउनसमेत भूमिका खेल्दै आएकी छिन्।

सुझावित समाचार