पाँच वर्ष कैद सजाय तोकिएका मनाङे कसरी चार वर्षमै छुटे ?

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षे कैद सजाय तोकिएका गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) कैद भुक्तान गरेर छुटेका छन्। उनी बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। 

पाँच वर्ष कैद सजाय भए पनि एक वर्ष सजाय छुट पाएर मनाङे जेलमुक्त भएका हुन्। फैसला भएको ६० दिनभित्रै फैसला कार्यान्वयन भएको भन्दै जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुट दिएकाले उनी छिट्टै जेलमुक्त भएका हुन्। 

गत वर्ष कात्तिकमा पक्राउ परेपछि मनाङले सो सुविधा पाउन माग गर्दै जिल्ला अदालत, काठमाडौंमा निवेदन दिएका थिए। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सुविधा दिने फैसला गरेको थियो। सोही आधारमा उनको एक वर्ष कैद छुट भएको हो। फैसला कार्यान्वयनलाई सघाउनेलाई प्रोत्साहन गर्न यस्तो कानुनी व्यवस्था गरिएको छ। यद्यपि, सर्वाेच्चको फैसलापछि भूमिगत भएको अवस्थामा उनलाई सिआइबीको टोलीले पक्राउ गरेको थियो। 

 गत २० कात्तिकमा सर्वाेच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो। फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा  केन्द्रीय अनुसन्धान ब्युरोले स्वयम्भूबाट पक्राउ गरेको थियो ।  सो मुद्दामा पटक–पटक गरी उनी पछिल्लो पटक पक्राउ पर्नुभन्दा अघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले पक्राउ परेको १६ महिनामा जेलमुक्त भएका हुन्।  

०६१ सालको वैशाख ३१ गते महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा मिलन गुरुङ (मिलन चक्रे)लाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन्।  

प्रहरीको घटनास्थल मुचुल्का, पीडित मिलन गुरुङले अदालतमा बकपत्र गर्दा मनाङले नै आफूलाई आक्रमण गरेको भनेर किटान गरेको, पीडितसँग पूर्वरिसइवी रहेको, हत्याकै प्रयास गरेको, तर केही हस्तक्षेपका कारण इच्छित परिणाम निस्किन नपाएकोजस्ता आधारमा टेकेर उनलाई अदालतले दोषी ठहर गरेको हो। 

सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले  उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सुनाएको थियो। दोषी ठहर भएसँगै उनको सांसद पद रिक्त भइसकेको छ । गुन्डागर्दी पृष्ठभूमिका मनाङे पटकपटक गण्डकी प्रदेशको मन्त्रीसमेत भएका थिए। 
 

सुझावित समाचार