२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की जिल्लामा उम्मेदवारी दिएका ४९ मध्ये ४० जना उम्मेदवारको धरौटी जफत भएको छ। तीन क्षेत्र रहेको कास्कीका तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले क्लिनस्विप गर्दा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अन्य सबै दलका र स्वतन्त्र उम्मेदवारी आवश्यक मत ल्याउन नसक्दा उनीहरूको धरौटी रकम जफत भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बनाइएको ऐन अनुसार आफूले उम्मेदवारी दिएको क्षेत्रमा खसेको कुल मतमध्ये सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने समय राखेको धरौटी रकम जफत हुने कानुनी व्यवस्था रहेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। धरौटी जफत भएका ४० जनामध्ये ३२ जनाले प्राप्त गरेको मत एक प्रतिशतभन्दा कम रहेको छ।
कास्कीका धरौटी जफत भएका ४० उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत कास्की १ मा उम्मेदवारी दिएका नेकपाका उम्मेदवार राजकाजी गुरुङले ६ हजार ७४१ मत ल्याउनुपर्नेमा त्यसको ३.६७ प्रतिशत अर्थात् दुई हजार ४७९ मत प्राप्त गर्दा सबैभन्दा कम नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कास्की २ का निर्देशविक्रम पौडेलले पाँच हजार ६८ मत ल्याउनुपर्नेमा त्यसको ०. ०१ प्रतिशत अर्थात् जम्मा ६ मत मात्र प्राप्त गरे। पौडेलले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसँगै पोखरास्थित नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका इकाइ समितिका सभापतिसमेत हुन् ।
कास्कीमा १ मा १७ जनाले उम्मेदवारी दिएकोमा रास्वपाका खड्कराज पौडेल (गनेस)ले जित हात पार्दा निकटतम नेपाली कांग्रेसका तिलकबहादुर रानाभाट र नेकपा एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) को धरौटी फिर्ता हुँदा अन्य १४ जनाको जफत भएको हो।
धरौटी जफत हुनेहरूमा रविमोहन ढकाल (राष्ट्रिय जनमोर्चा), मनीषा द्वा (उज्यालो नेपाल), कर्णबहादुर गुरुङ (प्रलोपा), राजकाजी गुरुङ (नेकपा), श्रीमान थापा (मंगोल नेसनल अर्गनाइजेसन), कृष्णबहादुर राउत (स्वतन्त्र), वीरबहादुर तामाङ लामा (श्रम संस्कृति), कुमार परियार (नेकपा माओवादी), आशबहादुर दमै (नेपाल मानवतावादी पार्टी), मीनबहादुर दर्जी (नेपाल जनमुक्ति पार्टी), यज्ञबहादुर गुरुङ (नेसनल रिपब्लिक नेपाल), हर्कबहादुर थापा (आम जनता पार्टी), बाबुराम थापा (राप्रपा), रामकाजी चर्माकार (जसपा, नेपाल) रहेका छन् । यस क्षेत्रमा ६७ हजार ४१० मत सदर भएको थियो ।
कास्की २ मा रास्वपाका उत्तम पौडेलले जित हात पार्दा निकटतम एमालेका रश्मि आचार्य र कांग्रेसका माधवप्रसाद बाँस्तोलाले धरौटी फिर्ता हुँदा अन्य १४ जनाको भने धरौटी जफत भएको छ । यस क्षेत्रमा ५० हजार ६७५ मत सदर भएको थियो । धरौटी नफत हुनेमा हेमबहादुर थापा पराजुली (नेकपा), ओलबहादुर गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन), विनिता अवाल (नेमकिपा), कुशल गुरुङ (उज्यालो नेपाल पार्टी), विष्णुप्रसाद तिवारी (स्वतन्त्र), हेमजंग गुरुङ (राप्रपा), ज्ञानराज गुरुङ (नेसनल रिपब्लिक नेपाल), रामचन्द्र आचार्य (स्वतन्त्र), ख्यामबहादुर गुरुङ (नेपाल जनमुक्ति पार्टी), निरञ्जन कोइराला (स्वतन्त्र), निर्दोषविक्रम पौडेल(स्वतन्त्र), प्रेमबहादुर थापा (नेकपा माओवादी), वसन्तराज घिमिरे (स्वतन्त्र), दीपक भण्डारी (प्रलोपा) रहेका छन् ।
कास्की ३ मा६२ हजार ६४९ मत सदर भएकोमा रास्वपाकी बिना गुरुङ विजयी हुँदा निकटतम कांग्रेसका मनोज गुरुङ र एमालेका दामोदर बैरागीले धरौटी बचाउँदा अन्य १२ जनाको भने जफत भयो। धरौटी जफत हुनेहरूमा टेकबहादुर सार्की (संयुक्त नागरिक पार्टी), कुशल थापा क्षेत्री (आम जनता पार्टी), मिना न्हिसुतु (नेमकिपा), तर्कबहादुर गुरुङ (उज्यालो), ओमप्रकाश विश्वकर्मा (नेपाल मातृभूमि पार्टी), गोपाल गिरी (नेकपा), अर्जुनप्रसाद खनाल (राप्रपा), जीवनबहादुर गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन), मीनबहादुर थापा (नेपाल जनमुक्ति पार्टी), तिरथ गुरुङ (नेसनल रिपब्लिक नेपाल), कमल खड्का विश्वकर्मा (नेकपा माओवादी) र हितकाजी गुरुङ (श्रम संस्कृति) रहेका छन् ।