कञ्चनपुरको तीनवटै सिट जितेको रास्वपा समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ जिल्लाका तीनै सिटमा १२ स्वतन्त्रसहित ५२ उम्मेदवारलाई उछिन्दै रास्वपा उम्मेदवारहरू जनकसिंह धामी, दीपकराज बोहरा र ज्ञानेन्द्रसिंह महता विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको समानुपातिकतर्फको मतपरिमाणअनुसार कञ्चनपुरमा सबैभन्दा बढी मत प्राप्त गरेर रास्वपा पहिलो दल बनेको छ। यसअघि ०७९ सालको निर्वाचनमा रास्वपा चौथो भएको थियो।
मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले तीनै निर्वाचन क्षेत्रमा मतगणना सुरु गरेको २४ घण्टाभित्रै समानुपातिक मत गणनाको परिमाण घोषणा गरिएको बताए। रास्वपाले ८७ हजार ९४५ मत ल्याएको छ। कुल सदर मतको ५९.३१ प्रतिशत मत रास्वपाले ल्याएको हो। निर्वाचन अधिकृतको कार्यालयको तथ्यांकअनुसार क्षेत्र नम्बर १, २ र ३ मा रास्वपाले क्रमशः २५ हजार ९२२, ३३ हजार ३७५ र २८ हजार ६४८ मत पाएको छ।
नेपाली कांग्रेसले तीन क्षेत्रमा क्रमशः सात हजार २०८, १० हजार ११२ र आठ हजार ६७६ गरी कुल २६ हजार ३९६, नेकपा एमालेले सात हजार ४३४, ६ हजार ७८५ र ६ हजार ५४६ गरी २० हजार ७६५ तथा नेपाली कम्युनिस्ट पार्टीले नाै हजार ६२७, पाँच हजार ६९८ र तीन हजार ४१० गरेर १८ हजार ७३५ मत ल्याएका छन्।
यसैगरी, राप्रपाले तीनवटा क्षेत्रमा क्रमशः दुई हजार ८३७, तीन हजार ६५४ र पाँच हजार ९०१ गरेर १२ हजार ३९२, नेकपा (विप्लव माओवादी)ले क्रमशः १४४, ९३, ७४ गरेर ३११, राष्ट्रिय जनमोर्चाले ३४८, १३२ र ६५ गरेर ५४५ एवं श्रम संस्कृति पार्टीले ७९३, २१८ र २८८ गरेर एक हजार ४४५ मत ल्याएको छ।