नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिले राजीनामा दिने समय नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कांग्रेसभित्र देखिएको परिस्थितिमा नेतृत्वले पद छाड्नेभन्दा पनि छिटो अधिवेशनमा जाने बाटो उपयुक्त हुने बताएका हुन्।
भण्डारीले कांग्रेसका सभापति गगनकुमार थापालाई लक्षित गर्दै अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित नभएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।’
उनले अहिलेको अवस्थामा कांग्रेसलाई जोगाउनु नै सबैको नैतिक दायित्व भएको बताए। युवापुस्ता पार्टीबाट टाढिँदै गएको अवस्थामा संगठनलाई नयाँ ऊर्जा र उपचार आवश्यक भएको उनको भनाइ छ।
‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ। अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ,’ उनले लेखेका छन्, ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो।’
भण्डारीले इच्छाशक्ति र साहस भए नेपाली कांग्रेसलाई अझै पनि जोगाउन सकिने उल्लेख गरेका छन्।