राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानको विभागीय टोली नेपाल एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग १–१ को बराबरी खेलेको छ । प्रतिस्पर्धामा युवराज खड्काले २२औँ मिनेटमा एपिएफलाई १–० को अग्रता दिलाएका थिए । खेलको ६२औँ मिनेटमा एलेक्स विलियनले प्लानिङ ब्वाइजलाई १–१ बराबरीमा पुर्याए । एपिएफले ९ खेलबाट २१ अंक जोडेको छ ।
प्लानिङ ब्वाइज १९ अंकका साथ दोस्रो स्थानमा छ । लिगमा एपिएफको लगातार दोस्रो र प्लानिङ ब्वाइजको लगातार तेस्रो बराबरी हो । लिगमा अपराजित रहेका लालिगुराँस र मच्छिन्द्र एफसीको पनि समान १९ अंक नै छ । गोलअन्तरमा प्लानिङ दोस्रो स्थानमा रहेको हो । लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० ले पराजित गरेको छ ।
फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले गोल गरे । एक गोल फ्रेन्ड्सले आत्मघाती उपहार प्राप्त गरेको थियो । निर्धारित समयको अन्तिम मिनेटमा विवश चौधरीले आफ्नै पोस्टमा गोल गरेका थिए । श्री भगवनीलाई हराउनुअघि फ्रेन्ड्सले सात खेलसम्म जित निकाल्न सकेको थिएन । जितसँगै ९ खेलमा ९ अंक जोड्दै फ्रेन्ड्स १०औँ स्थानमा उक्लिएको छ । ८ अंक जोडेको भगवती १३औँ स्थानमा झरेको छ ।