२१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका बहुसंख्यक व्यवसायीमध्ये नौजना विजयी भएका छन् । विभिन्न दलबाट दर्जनौँ व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएका भए पनि नौजना अनुमोदित भएर संसद् प्रवेश गर्दै छन् । फोब्र्सको अर्बपतिको सूचीमा सूचीकृत एक मात्रै नेपाली व्यवसायी विनोद चौधरीसहित दर्जनौँ उम्मेदवार भने पराजित भएका छन् ।
रसुवामा निर्माण व्यवसायी आचार्य
निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका उनले निकटतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टलाई पाँच हजार ८५ मतले पराजित गरे । विजयी आचार्यले १० हजार ६ सय ५६ मत ल्याउँदा भट्टले पाँच हजार पाँच सय ७१ मत मात्रै ल्याए । कांग्रेस केन्द्रीय सदस्य आचार्य यसअघि ०७९ मा पनि रसुवाबाट निर्वाचित भएका थिए ।
स्याङ्जा १ बाट पर्यटन व्यवसायी रेग्मी
स्याङ्जा १ मा प्रतिस्पर्धामा पर्यटन यवसायीमा धनञ्जय रेग्मी विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका रेग्मीले २९ हजार ७१ मत ल्याएर विजयी भएका छन् । उनीसँगै प्रतिस्पर्धामा आएका मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्ष भरतराज ढकाल र पूर्वबैंकर मीनप्रसाद गुरुङ भने पराजित भए ।
कुरियर व्यवसायी कार्की सोलुखुम्बुमा
कुरियर तथा कार्गाे व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बुमा विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कार्कीले १३ हजार एक सय ६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका असीम राईले नौ हजार ४१४ मत ल्याएको देखिन्छ ।
भक्तपुर १ मा व्यवसायी रञ्जित
भक्तपुर १ मा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जित विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका रञ्जितले ३३ हजार चार सय ३६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार एक सय ४७ मत ल्याए ।
सिन्धुपाल्चोक १ मा पराजुली
सिन्धुपाल्चोक १ मा ऊर्जा व्यवसायी भरतराज पराजुली विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका उले २४ हजार चार सय १२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार तीन सय २७ मत ल्यााए ।
बारा २ मा आइएमईका साह
बारा २ मा भुक्तानी सेवाप्रदायक आइएमईका लगानीकर्ता अरविन्द साह विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका उनले ४० हजार ६ सय ९७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत ल्याए ।
उदयपुर १ मा व्यवसायी गेलाल
उदयपुर १ मा व्यवसायी पारसमणि गेलाल विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका गेलालले ३० हजार पाँच सय ९० मत ल्याए । उनका निटकतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६ सय ६ मत ल्याए ।
तनहुँ २ मा ऊर्जा व्यवसायी न्यौपाने
ऊर्जा व्यवसायी श्रीराम न्यौपाने तनहुँ २ मा विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका उनले ३२ हजार ६ सय ८७ मत ल्याउँदा निकटमत प्रतिस्पर्धी कांग्रेसका शंकर भण्डारीले १४ हजार एक सय ३५ मत ल्याएको देखिन्छ ।
दोलखामा ऊर्जा व्यवसायी खरेल
दोलखाबाट ऊर्जा उद्यमी जगदीश खरेल निर्वाचित भएका छन् । रास्वपा उम्मेदवार बनेका उनले ३२ हजार तीन सय ७६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका पार्वत गुरुङले १७ हजार चार सय ४९ मत ल्याए ।
सर्लाही १ मा युवा व्यवसायी नीतिमा
युवा व्यवसायी नीतिमा भण्डारी कार्की पनि सर्लाही १ बाट विजयी भएकी छिन् । रास्वपाबाट उम्मेदवार बनेकी उनले ४४ हजार एक सय ८१ मत ल्याइन् । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ३६ हजार तीन सय १० मत ल्याए । नीतिमा बाजेका सेकुवामा आबद्ध छिन् ।