निर्वाचनको मतगणना सकिँदै गर्दा संसद् सचिवालय सांसदहरूको शपथग्रहण तयारीमा जुटेको छ । तर, सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन तयार भइनसकेकाले सोही भवनमा रहेको एक हलमा शपथ गराउने तयारी छ । संसद् सचिवालयले शपथको तयारी गरे पनि सांसदहरूलाई राख्ने भवन छैन । सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन पाँचपटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । संसद् सचिवालयले निर्माणाधीन भवनको अतिरिक्त हललाई तयार गर्न लगाएर त्यहीँ शपथ गराउने तयारी गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम प्रतिवेदन प्राप्त भएपछि नवनिर्वाचित सांसदहरूलाई शपथ गराइनेछ । ‘सरकारले निर्माणाधीन भवनभित्रै प्रतिनिधिसभा कक्षसहित केही पूर्वाधार १ चैतभित्र तयार गरिदिने भनेको थियो । तर, सम्भव देखिएन । वैकल्पिक रूपमा त्यहीँ भएको बहुउद्देश्यीय सभा कक्षलाई तत्कालका लागि व्यवस्था गर्ने गरी अघि बढेका छौँ,’ प्रवक्ता गिरीले भने, ‘त्यो हलको निर्माण अन्तिम चरणमा भएकाले त्यसैलाई सकाउन भनेका छौँ । शपथ र आवश्यकताअनुसारका केही बैठक त्यही हलमा हुन्छ ।’
संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । निर्वाचनको अन्तिम परिणाम आइसकेको ३० दिनभित्र राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुन्छ । अधिवेशनको पहिलो बैठकअघि सांसदहरूलाई शपथ गराइन्छ ।
शपथ गराउनुअघि सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिन्छन् । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँछन् । यसपालि प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रूपमा कांग्रेसका टेकबहादुर गुरुङ र स्वतन्त्र महावीर पुन ७१ वर्षका छन् । उनीहरूमध्ये जो ज्येष्ठ छन् उनैले शपथ गराउनेछन् । शपथपछि सांसदहरूले प्रतिनिधिसभा सदस्यको लोगो पाउँछन् । बानेश्वरको संसद् भवन जेन–जी आन्दोलनमा जलेपछि अहिले राष्ट्रिय सभा कृषि समितिको हलमा चलिरहेको छ ।