नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गुटकाे घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्।
निर्वाचनमा पराजयपछि आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ ।’
मूलतः पार्टी नेतृत्वको कमजोरीका करण चुनावमा असफलता मिलेको भन्दै सामूहिक पहलबाट बदल्न सकिने उनको भनाइ छ ।
फेसबुकमार्फत उनले भनेका छन्, ‘पार्टीले सामना गर्नुपरेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धि–विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ, म सबै नेता कमरेडहरू र सिगो पार्टीपंक्तिलाई हिजोका गुट (समूह) काे घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु ।’
यस्तो छ उनको आह्वान
विगत तीन दिनयता करिब हजारजनासँग फोनमा कुरा भयो । त्यत्तिकै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनुभएको छ । कुराकानीका क्रममा सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना, उपाय, दृढता, जोसलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नुपर्याे, पहल लिनुपर्याे भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिनपछि भन्नेछु ।
अहिलेलाई मेरा प्रारम्भिक विचार
निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्दछ ।
मूलतः भदाै २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन् त्यसमा करेक्सन गरौँ भनेर हामीले नेतृत्व र सिंगो पार्टीपंक्तिलाई बैठक, भेटघाट र महाधिवेशनमार्फत पटक–पटक अनुरोध गर्याैँ, तर सफल भएनौँ । अब पुनः छलफल र बहस खुला गर्नुपर्दछ ।
हरेक सार्वजनिक संस्था–संगठनमा जिम्मेवारी र जवाफदेहिता अहं महत्त्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नुपर्दछ । त्यसपछि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस–अपजसको भारी बोक्नुपर्दछ । यो सबैको जवाफदेहिता फेरि पनि प्रमुख नेताकै रहन्छ । सफलता वा असफलतापछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नुपर्दछ ।
पार्टीले सामना गर्नुपरेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धि–विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ, म सबै नेता कमरेडहरू र सिगो पार्टीपंक्तिलाई हिजोका गुट (समूह)काे घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरूलाई आफ्ना राय–सुझावहरू पार्टी नेतृत्वसमक्ष पठाउन अनुरोध गर्दछु ।
कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ । सहि नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत हामी उठ्ने छौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउनेछौँ । संयम र धैर्यताका साथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा हिँड् म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।
राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेबारे आफ्ना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आमजनसमुदायमा हार्दिक अपिल गर्दछु ।
अन्तमा, राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा वाम–लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक विचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।