कान्छा सांसद प्रशान्त उप्रेती भन्छन्– यो मेरो होइन, जनताको जित हो

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सम्भवत: सबैभन्दा कान्छा सांसद प्रशान्त उप्रेतीले आफ्नो जितलाई जनताको जितको रूपमा व्याख्या गरेका छन्। २०५७ साल जेठ १० गते मकवानपुरको मनहरीमा जन्मिएका उनी अहिले २५ वर्ष १० महिनाका भए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित उनले निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै नागरिकहरूले परिवर्तनको चाहना व्यक्त गर्दै मतमार्फत स्पष्ट सन्देश दिएको बताए। ‘यो हाम्रोभन्दा पनि जनताको जित हो। नागरिकहरूले परिवर्तन चाहनुभएको थियो र लोकतन्त्रमा आफ्नो सबैभन्दा ठुलो अधिकार प्रयोग गर्दै ब्यालेटमार्फत त्यसको उत्तर दिनुभएको छ,’ उनले भने।

उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न इमान्दारपूर्वक काम गर्ने बताएका छन्। ‘मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टी र मप्रति देखाउनुभएको विश्वासका लागि धन्यवाद दिन चाहन्छु। अब संसदभित्र जाँदा हामीले गरेका प्रतिबद्धता र वाचाहरू पूरा गर्ने कुरामा पूर्ण रूपमा प्रतिबद्ध छौँ,’ उनले नयाँ पत्रिकासँग भने।

उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी नै आफ्नो पहिलो राजनीतिक दल भएको पनि बताएका छन्। यसअघि राजनीतिक बहस र विचारधारामा सक्रिय भए पनि कुनै दलमा औपचारिक रूपमा आबद्ध नभएको उनले उल्लेख गरे।

यसपटकको निर्वाचन परिणामले धेरैलाई अचम्मित बनाएको उनको भनाइ छ। जनताको भावना कागजी तथ्यांक र अनुमानभन्दा फरक हुन सक्ने भन्दै उनले यसपटकको परिणामले त्यसलाई पुष्टि गरेको उल्लेख गरे। उप्रेतीले मकवानपुरका नागरिकहरूले भोगिरहेका समस्या संसदमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले नीतिगत र संरचनागत कारणले उत्पन्न भएका समस्याहरू समाधानका लागि पहल गर्ने बताए।

सुझावित समाचार