बालेनको राजनीतिक छलाङ

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण
बालेनको राजनीतिक छलाङ

निर्वाचित भएपछि दमकमा उपस्थित समर्थकलाई अभिवादन गर्दै बालेन । तस्बिर : बालेनको सचिवालय

  • र्यापरका रूपमा युवामाझ मात्रै परिचित बालेनले ०७९ मा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा चुनाव जित्ने अनुमान कमैको थियो, तर ठुला दलका ‘कोर एरिया’ भत्काएर मेयरमा निर्वाचित उनले अहिले चारपटक प्रधानमन्त्री भइसकेका केपी ओलीलाई हराएर प्रधानमन्त्रीको कुर्सी सुनिश्चित गरेका छन्

पेसाले इन्जिनियर बालेन्द्र शाह बालेनको सामाजिक छवि र्यापरका रूपमा थियो, त्यो पनि युवामाझ मात्रै । त्यतिवेला उनी राजनीतिक चेहरा थिएनन्, तर उनमा राजनीतिक चेत थियो । ०७४ को स्थानीय तह निर्वाचनमै उम्मेदवारी दिएर राजनीतिमा हामफाल्न खोजेका थिए बालेन । स्वतन्त्र उम्मेदवारी दिन साथी–सर्कलबिच तयारीसमेत गरेका थिए । तर, वैकल्पिक राजनीतिक धारका रूपमा तत्कालीन विवेकशील साझा पार्टी मैदानमा आएपछि बालेन पछि हटेका थिए ।

पाँच वर्ष फेरि चुपचाप बसेका बालेनले ०७९ को चुनावमा भने काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । चुनाव चिह्न पाए लौरो । उम्मेदवारीपछिका सुरुवाती दिनमा ठुला दलका उम्मेदवारको चर्चा चुलिँदा बालेन ओझेलमै थिए । तर, मतदानको दिन नजिकिँदै गर्दा उनको चर्चा चुलिँदै गयो । तैपनि मेयर बन्लान् भन्ने अनुमान कमैको थियो । अन्तत: ठुला दलका ‘कोर एरिया’ भत्काएर ६१ हजार ७६७ मतसहित उनी मेयरमा निर्वाचित भए । र्यापरबाट एकैचोटि मेयर, यो नै बालेनको पहिलो राजनीतिक छलाङ थियो । उनीसँग प्रतिस्पर्धामा उत्रिएका कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ र एमाले उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए । 

काठमाडौंको नेतृत्व सम्हालिरहेका थिए । महानगरमा उनले गरेका कामको चर्चा सामाजिक सञ्जालबाट हुँदै थियो । महानगरको कामकारबाहीमा संघ सरकारले गरेका अवरोधदेखि राष्ट्रिय राजनीतिका मुद्दामा फेसबुकमार्फत सार्वजनिक उनका धारणाले ‘पब्लिक समर्थन’ बटुल्दै गयो । बालेन नेताका रूपमा स्थापित हुँदै गए । महानगरको प्रशासकीय अधिकृतलाई लिएर अघिल्लो सरकारमा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीसँग उनको ‘टसल’ बढ्दै गयो । ओलीसँग सार्वजनिक जुहारी बाक्लिँदै गयो । सरकारमाथि सार्वजनिक आलोचना बढ्न थालेपछि ओलीले सामाजिक सञ्जाल नै बन्द गर्ने अप्रिय कदम चाले । जसविरुद्ध जेन–जी युवाले आन्दोलनको घोषणा गरे । आन्दोलनको अघिल्लो दिन २२ भदौमा बालेनले फेसबुकमा स्टाटस लेखेर गरेको ऐक्यबद्धताले आन्दोलनमा युवाको उपस्थिति बढाउन बल दियो । 

२३ भदौको जेन–जी आन्दोलनमा ओली सरकारले गरेको नरसंहारले राजनीतिमा फरक मोड दियो । २४ भदौमा चौतर्फी बिध्वंससँगै ओली नेतृत्वको सत्ता ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भयो । प्रधानमन्त्री बनिदिन जेन–जीले बालेनलाई नै आग्रह गरेका थिए, तर बालेनले रुचि देखाएनन् । बरु, बालेनकै प्रस्तावमा कार्की प्रधानमन्त्री बनिन् । उनी चाहन्थे– चुनावी सरकारको प्रधानमन्त्री होइन, जननिर्वाचित शक्तिशाली सरकारकै प्रधानमन्त्री बन्ने ।

२१ फागुनमा चुनावको मिति घोषणापछि रास्वपा सभापति रवि लामिछानेसँग विभिन्न चरणमा छलफल गरेर भावी प्रधानमन्त्रीका रूपमा पार्टीले प्रस्ताव गर्ने गरी बालेन रास्वपामा समाहित भए । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीमा अगाडि सारेर चुनावमा होमियो । चुनावमा बालेनले सजिलो ठाउँ रोजेनन्, चुनौतीपूर्ण क्षेत्र रोजे । ०४८ यता ६ पटकसम्म केपी ओलीले जितेको झापा ५ बाट उम्मेदवारी दिए । बालेनको यो निर्णयमा अधिकांशले भन्दै थिए– ओलीसँग निहुँ खोजेर उनको ‘किल्ला’मा गए, हार्छन् । तर, शनिबार नतिजा आउँदा ओलीविरुद्ध बालेनले झन्डै ५० हजार मतान्तरले जित निकाले । बालेनले ६८ हजार ३४८ ल्याउँदा ओलीले १८ हजार ७३४ मत मात्रै ल्याए । चुनाव बालेनले मात्रै जितेनन्, रास्वपाको देशव्यापी संगठनमा बालेनको क्रेज मिसिँदा पार्टी दुईतिहाइउन्मुख देखिन्छ । दशकौँदेखि देशको मूल राजनीतिमा जमेका शीर्ष नेताहरूलाई बालेन क्रेजले एकै लटमा किनारामा धकेलिदिएको छ । यसले बालेनको प्रधानमन्त्री पद सुनिश्चित गरेको छ । मेयरबाट एकैचोटि प्रधानमन्त्री बन्नु बालेनको अर्को राजनीतिक छलाङ हो । 

काठमाडौंको मेयर छँदा बालेनले सुशासन र शिक्षा सुधारमा मुख्य जोड दिएका थिए । तीन वर्ष मेयरको जिम्मेवारी सम्हाल्दा उनी कुनै पनि अनियमिततामा जोडएनन् । त्यस्तै, सामुदायिक विद्यालय सुधारसँगै निजी विद्यालयमा ३० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिलाए । महानगरको ८३ सामुदायिक विद्यालयमा स्मार्ट र व्यावहारिक शिक्षालाई सुधारमा ल्याए । सामुदायिक विद्यालयका कक्षाकोठा फराकिलो पार्ने र सामुदायिक विद्यालयले अनधिकृत रूपमा भाडामा लगाएको सटर खाली गर्नेजस्ता काम गरेका थिए । 

ओलीसँग भिड्न किन झापा पुगेका थिए बालेन ? 
बालेन झापा ५ मै चुनाव लड्न जानुको कारण बुझ्न केपी ओलीसँगका विवादको पृष्ठभूमिले काम गरेको उनका निकटस्थहरू बताउँछन् । ओली संघीय सरकारको नेतृत्वमा छँदा बालेनसँग पटक–पटक टसल परेको थियो, तर उनी झुकेनन् । 

मेयरको चुनावका वेला एमाले उम्मेदवार केशव स्थापितले ‘र्यापर केटो आफूसँग भिड्न आएको’ भन्दै होच्याएका थिए । स्थापित हारेपछि बालेन ओलीको ‘टार्गेट’मा पर्न थाले । बालेन फेरि डगमगाएनन् । कहिले फोहोर उठाउने नाममा, कहिले टुकुचा उत्खनन गर्ने नाममा त कहिले सुकुमवासी बस्ती हटाउने नाममा ओली–बालेन विवाद तन्किँदै गयो । 

ओली प्रधानमन्त्री भएपछि बालेनले धरहरामा पार्किङ खुलाए । त्यसपछि ओली झन् बिच्किए । बालेनले ओलीको पालामा बनेको धरहरालाई ‘सेतो टावर’ र झापा दमकमा ठड्याइएको बिजनेस टावरलाई फेसबुकबाटै ‘अग्लो घर’को संज्ञा दिएका थिए । 

बालेन मेयर भएपछि चक्रपथको अस्तव्यस्तता अवलोकन गर्न पुगेका थिए । सरकारले चक्रपथ निर्माणमा ढिलासुस्ती गरेर जनतालाई सास्ती दिएको भन्दै तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने भन्दै फेसबुकमा लेखे । त्यसलगत्तै सडक विभागअन्तर्गत सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा महानगरले उपहारस्वरूप भन्दै एक ट्रक धुलो फ्याँक्यो । उक्त भिडियो बालेनले सार्वजनिक गरेपछि ओली निकै रिसाए । 

बालेनले न्युरोडमा सडकपेटी विस्तार अघि बढाउँदा पनि एमालेनिकट वडाध्यक्ष चिनीकाजी महर्जनले अवरोध गरे । सडक विभाग र महानगरबिच विवाद मच्चियो । बालेनले ओलीको गिरीबन्धु टी इस्टेट मुद्दामाथि फेसबुकबाटै कटाक्ष गरे  । उनले भनेका थिए, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ ।’ त्यतिवेलै ओलीविरुद्ध सामाजिक सञ्जालमा अनफलो अभियान चल्यो । 

फुटपाथको विवाद सेलाउन नपाउँदै एमालेनिकट लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालश्रमिक राखेको र यातना दिएको मुद्दामा महानगरले अध्ययन गर्दै कारबाहीका लागि सिफारिस गर्यो । तर, ओलीले सांसद शर्मालाई जोगाए । त्यसपछि ०८१ भदौदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर ओली र बालेनबिच निकै लामो विवाद चल्यो । बालेनले नरुचाएका कार्यकारीलाई ओलीले सरुवा गरेनन् । बरु प्रहरीको सुरक्षामा कार्यालय पठाएपछि विवाद उत्कर्षमा पुगेको थियो । 

आलीकै कारण काठमाडौं महानगरपालिकामा काम गर्नसमेत अवरोध झेलेका बालेनले अन्तत: आफ्नो संघीय चुनावको थलो ओलीले जित्दै आएको झापा ५ लाई नै बनाउने निर्णय गरेका थिए ।

ओलीले भनेका थिए– बालेन मेरो प्रतिस्पर्धी नै होइनन्, तर ५० हजार मतान्तरले हारे
५ माघमा मनोनयन दर्ताका क्रममा झापा पुग्दा एमाले अध्यक्ष केपी ओलीले बालेन आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका थिए । त्यसपछि पनि पत्रकारले सोध्ने हरेक प्रश्नमा ओलीले बालेन चर्चाका लागि आफूविरुद्ध प्रतिस्पर्धा गर्न आएको जवाफ दिँदै आएका थिए । तर, नतिजा ओलीका लागि सर्मनाक भइदियो । बालेनले नेपालको संसदीय इतिहासमै सर्वाधिक ६८ हजार ३४८ मत ल्याएर ओलीलाई हराइदिए । उनले पाएको मत झापा ५ मा खसेको कुल मतको ६४.१३ प्रतिशत हो । ओलीले १८ हजार ७३४ मत मात्रै पाए । ओली र बालेनको मतान्तर ४९ हजार ६१४ छ । 

झापा ५ मा विगतका निर्वाचनमा ठुला सभा हुन्थे । दलका नेता–उम्मेदवारले भाषणमार्फत मतदाता आकर्षित गर्थे । यसपालि ठुला सभा नगरे पनि एमाले अध्यक्ष ओलीसहित अन्य दलका उम्मेदवारले विभिन्न ठाउँमा भाषण गर्दै मतदातालाई आफ्ना एजेन्डा सुनाए । तर, बालेनले भने यसपटक झापा ५ मा कतै भाषण गरेनन् । ओलीले जति घरदैलोमा समेत खटिएनन् । तर, नबोली–नबोली पनि सर्वाधिक मत ल्याएर विजयी भए ।

ओली आफ्नै अहंकार र दम्भका कारण पराजय भएको झापाका युवा विश्लेषक सागर शिवाकोटी बताउँछन् । ‘जनताले परिवर्तन चाहेका थिए । उकुसमुकुस भएर बसेका थिए । झापा ५ को परिणाम यसकै विस्फोटको अभिव्यक्ति हो । जनतालाई आफ्नो पकेटका मान्ने पुरानो अवधारणा फेल भयो । दलहरूले लोकतान्त्रिक भएर सोच्नुपर्छ । मेरो किल्ला भन्ने रहेन,’ उनी भन्छन्, ‘ओली अक्षमता र अहंकारले पराजय हुन पुगे । ओलीले गरेको ज्यादती र हेपाइ सहन नसकेर यसपटक जनताले मतमार्फत प्रतिवाद गरे । बालेनको जितमा ओलीप्रतिको असन्तुष्टिको पनि भूमिका छ ।’

See More On

सुझावित समाचार