राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त जितलाई केवल विजयको रूपमा नभई जनताले सुम्पिएको ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। विजयी भएपछि प्रतिक्रिया दिँदै लामिछानेले जनताले देखाएको विश्वासले आफूलाई अझ बढी जिम्मेवार र गम्भीर बनाएको बताए।
‘जनताले गरेको यो अपार माया र विश्वासले हामीलाई इतिहासकै सबैभन्दा बढी जिम्मेवारी दिएको महसुस गराएको छ,’ उनले भने, ‘यो सामान्य कुरा होइन, यसले हामीलाई अझ जिम्मेवार र गम्भीर बनाएको छ।’
निर्वाचनमा आएको भारी मतान्तरलाई उनले परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्। लामिछानेका अनुसार यसले जनताले पुरानो शैलीको राजनीतिबाट मुक्ति खोजेको र नयाँ विकल्पतर्फ आकर्षित भएको सन्देश दिएको बताए।
उनले समर्थक तथा कार्यकर्तालाई जितको उन्मादमा नमात्तिन र विपक्षीहरूप्रति आक्रामक नहुन पनि आग्रह गरे। लोकतन्त्रमा फरक मतको सम्मान आवश्यक हुने उल्लेख गर्दै उनले अब गाली–गलौजभन्दा पनि काम गरेर देखाउने समय आएको बताए।
‘हामी संयमित हुनुपर्छ, उत्तेजित हुनु हुँदैन। अब हाम्रा अभिव्यक्तिहरू अझ जिम्मेवार हुनुपर्छ। प्रतिपक्षलाई होच्याउने वा गाली गर्ने काम तत्काल बन्द गर्नुपर्छ। लोकतन्त्र भनेको फरक मतको सम्मान हो,’ उनले भने।
लामिछानेले चुनावी वाचापत्रमा उल्लेख गरिएका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुने पनि बताएका छन्। विशेष गरी सहकारी पीडितहरूको समस्या समाधान गर्ने र १०० दिनभित्र साना बचतकर्ताहरूको पैसा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने प्रतिबद्धता उनले दोहोर्याए।
सभापति लामिछानेले यो जीतमा नयाँ पुस्ताको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनीहरूको आशा र भरोसालाई खेर जान नदिने बताए। मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान रास्वपा सधैं प्रतिबद्ध रहने उनको भनाइ थियो।