१०औँ संस्करणको टी–२० विश्वकपअन्तर्गत भारत र इंग्ल्यान्डबिचको दोस्रो सेमिफाइनल हाइस्कोरिङ भयो । मुम्बईको वानखेडे रंगशालामा भारतले मुस्किलले इंग्ल्यान्डमाथि सात रनको जित निकाल्यो । भारत चौथोपटक विश्वकपको सेमिफाइनलमा पुग्यो । चौथोपटक फाइनल पुग्ने भारत पहिलो टोली बनेको छ । यसअघि भारत सन् २००७, २०१४ र २०२४ को विश्वकप सेमिफाइनलमा पुगेको थियो । सन् २०१४ बाहेक अन्य दुई फाइनलमा भारतले आफ्नो पक्षमा पारेको छ । भारतले पाकिस्तान, इंग्ल्यान्ड र श्रीलंकाको रेकर्ड पछि पारेको छ ।
यी तीनवटै राष्ट्र समान तीनपटक फाइनलमा पुगेका थिए । जसमा इंग्ल्यान्डले दुई फाइनल जितेको थियो । पाकिस्तान र श्रीलंकाले तीनमध्ये एक फाइनल मात्र आफ्नो नाममा लेखाए । लगातार दुई संस्करण फाइनल खेल्ने भारत तेस्रो टोली बनेको छ । यसअघि पाकिस्तान र श्रीलंकाले यस्तै रेकर्ड राखेका थिए । पाकिस्तान सन् २००७ र २००९ को संस्करणको उपाधि भिडन्तमा पुगेको थियो । पाकिस्तान सन् २००९ मा विजेता बनेको थियो । श्रीलंकाले भने सन् २०१२ र ०१४ को फाइनल खेल्यो । दोस्रो सेमिफाइनलपछि बनेका रेकर्ड यस्ता छन् ।
विश्वकपको एकै खेलमा सर्वाधिक छक्का
भारत र इंग्ल्यान्डबिचको एकै खेलमा सर्वाधिक ३४ छक्का ब्याट्सम्यानले लगाए । यी दुई टोलीले जिम्बावे र वेस्ट इन्डिजबिचको रेकर्ड पछि पार्न सफल भए । वेस्ट इन्डिज र जिम्बावेबिच खेलमा ३१ छक्का प्रहार भएका थिए । वानखेडे रंगशालामा कुल बनेको योगफलमा ७३ प्रतिशत रन बाउन्ड्रीबाट निस्किएको थियो । जसमा ३९ चौका र ३४ छक्का समावेश रहेको छ । सन् २०१६ मा यसै मैदानमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबिचको खेलमा ६१ बाउन्ड्री प्रहार भएको थियो । १०औँ संस्करणको दोस्रो सेमिफाइनलमा भारतले १८ चौका र १९ छक्का प्रहार गरेको थियो । इंग्ल्यान्डको ब्याटिङमा १५ छक्का र २१ चौका प्रहार भएको थियो ।
ब्याक टु ब्याक दुई सय ५० रनको योगफल
चालू विश्वकपमा भारतले अर्को रेकर्ड पनि बनाएको छ । प्रतियोगितामा ब्याक टु ब्याक दुई सय ५० रनको योगफल बनाउने भारत पहिलो टोली बनेको छ । उसले सुपर ८ मा जिम्बावेविरुद्ध पहिलो ब्याटिङ गरी २५४/४ को प्रदर्शन गरेको थियो । त्यसपछि इंग्ल्यान्डसँगको सेमिफाइनलमा २५३/७ को स्कोर खडा गरेको थियो । टी–२० विश्वकपको इतिहासमा श्रीलंकाको नाममा सर्वाधिक योगफल रहेको छ । सन् २००७ को पहिलो संस्करणको विश्वकपमा श्रीलंकाले केन्याविरुद्ध २६०/७ को प्रदर्शन गरेको थियो । त्यसपछि दोस्रो ठुलो योगफल बनेको भारतले जिम्बावेविरुद्ध बनाएको हो । यसै विश्वकपमा वेस्ट इन्डिजले जिम्बावेविरुद्ध २५४/६ को योगफल खडा गरेको थियो । यसैगरी, आयरल्यान्डले पनि चालू विश्वकपमै ओमानसँगको खेलमा २३५/५ को स्कोर बनाएको थियो ।
धेरै छक्का लगाउने भारत पहिलो
टी–२० विश्वकप इतिहासमा एउटै संस्करणमा धेरै छक्का लगाउने भारत पहिलो टोली बनेको छ । चालू विश्वकपमा भारतले सर्वाधिक ८८ छक्का ठोकेको छ । दोस्रो स्थानमा वेस्ट इन्डिज रहेको छ । १०औँ संस्करणको विश्वकपमै वेस्ट इन्डिजले ७६ छक्का प्रहार गरेको थियो । तेस्रो स्थानमा रहेको टोली दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले सन् २०२४ को संस्करणमा ७२ छक्का जोडेको थियो । सोही विश्वकपमा भारतले ६१ तथा वेस्ट इन्डिजले ६२ छक्का प्रहार गरे । एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड भारतले बराबरी गरेको छ । नेदरल्यान्ड्स र वेस्ट इन्डिजले एकै खेलमा सर्वाधिक १९ छक्का लगाएका थिए । सन् २०१३ मा नेदरल्यान्ड्सले आयरल्यान्डविरुद्ध र सन् २०२६ को विश्वकपमा वेस्ट इन्डिजले जिम्बावेसँगको खेलमा सर्वाधिक १९ पटक छक्का प्रहार गरेका थिए ।
विश्वकपकै खर्चिला बलर वरुण
भारतले इंग्ल्यान्डमाथि सनसनी जित निकाल्दा उसका बलर वरुण चक्रवर्ती सबैभन्दा खर्चिला बलर साबित भए । वरुणले पूरै स्पेलमा ६४ रन खर्चे । यसै खेलमा इंग्ल्यान्डका जोफ्रा आर्चर विश्वकपकै खर्चिलो बलर बनेका थिए । इंग्ल्यान्डविरुद्ध लक्ष्य रक्षा गरेको इनिङ्समा भारतका वरुण खर्चिलो बने । यसैगरी, सन् २०२१ को विश्वकपमा अस्ट्रेलियाका मिचेल स्टार्कले न्युजिल्यान्डसँगको खेलमा ६० रन खर्चेका थिए । सन् २०१२ को विश्वकपमा श्रीलंकाका कप्तान लथिस मलिंगाले वेस्ट इन्डिजविरुद्ध ५४ रन दिएका थिए ।