दोलखाको लामिडाँडास्थित ओरिन्ड म्याग्नेसाइटको खानी र प्रशोधन गर्ने उद्योग २७ वर्षदेखि अलपत्र छ । यस खानीमा १८ करोड मेट्रिकटन म्याग्नेसाइट र पाँच लाख मेट्रिकटन खरी रहेको अन्वेषणले देखाएको छ ।
उद्योगमा म्याग्नेसाइट प्रशोधन गरेर डिबिएम, क्याल्साइन र खरी पाउडर उत्पादन गर्न सकिन्छ । उद्योगबाट वार्षिक तीन अर्ब ११ करोड रुपैयाँबराबरको उत्पादन बिक्री गर्न सकिने सरकारी अध्ययनले नै देखाएको थियो ।
२५ मंसिर ०५५ देखि पूर्ण रूपमा बन्द रहेको म्याग्नेसाइट उद्योग सञ्चालनका लागि स्थानीयवासी, पूर्वकर्मचरी एवं सरोकारवालाले माग गर्दै आएका छन् । तर, सरकारले खानी र उद्योग पुन: सञ्चालनको प्रभावकारी प्रक्रिया अघि बढाउन सकेको छैन ।