- स्थापित पुराना दलहरूलाई मतमार्फत दण्डित गर्दै नागरिकले बदले राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन, मतगणनाको रुझान रास्वपा स्पष्ट बहुमत पाउने मात्रै होइन, दुईतिहाइनजिक पुग्ने देखिन्छ, विश्लेषक भन्छन्– सुशासन र नयाँ राजनीतिक संस्कृतिको पक्षमा देखियो जनादेश
६ महिनाअघि सडकमा भएको जेन–जी विद्रोहपछि नागरिकले ब्यालेटमार्फत ‘मत क्रान्ति’ गरेका छन् । बिहीबार भएको निर्वाचनमा मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अभूतपूर्व मत दिएका छन् भने परम्परागत राजनीतिक शक्तिलाई किनारामा धकेलेका छन् । मतगणनाको रुझान हेर्दा रास्वपा स्पष्ट बहुमत पाउने मात्रै होइन, दुईतिहाइनजिक पुग्ने (दुईतिहाइ ल्याउन पनि सक्छ) देखिन्छ ।
पुरानो राजनीतिक शैलीप्रति असन्तुष्ट नागरिकले परिवर्तन, पारदर्शिता र प्रभावकारी सेवाप्रवाहको अपेक्षासहित नयाँ शक्तिलाई शासनका लागि अघि सारेको देखिन्छ । भावी प्रधानमन्त्रीका रूपमा रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई अगाडि सारेको छ ।
०७९ असारमा स्थापना भएको रास्वपाले त्यही वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा भाग लिएर २१ सिट जितेको थियो । सुशासनका पक्षमा रास्वपाले संसद्मा बलियो आवाज उठाएको थियो । यसबिचमा जेन–जी विद्रोह पनि भयो । यही सन्दर्भमा स्थापित दलहरूलाई मतमार्फत दण्डित गर्दै जनताले राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन पूर्णतः बदलेका छन् ।
रास्वपाले जेन–जी आन्दोलनको अपनत्व लिँदै सुशासनका लागि काम गर्ने वाचा गरेको छ । आयोगको तथ्यांकअनुसार प्रारम्भिक रुझानमा रास्वपाले बहुमत प्राप्त गर्ने सुनिश्चित भएको छ । प्रारम्भिक रुझान अन्तिमसम्म रहे दुईतिहाइनजिक पुग्न सक्ने देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरेका अनुसार नेपालमा विगतदेखि नै जनविद्रोहलाई मतमार्फत अनुमोदन गर्ने परम्परा रहेको र अहिले नागरिकले जेन–जी विद्रोहलाई पनि त्यही ढंगले स्वीकृति दिएका छन् । ‘००७ सालको परिवर्तनपछि ०१५ को जनमत, ०४६ को परिवर्तनपछि ०४८ को परिणाम, जनयुद्धपछि ०६४ को जनादेश तथा मधेश आन्दोलनको अनुमोदनजस्तै अहिले जेन–जी विद्रोहलाई पनि नागरिकले मतबाट अनुमोदन गरेका छन् । जेन–जीले उठाएका एजेन्डा कार्यान्वयन गर्ने जिम्मा नागरिकले रास्वपालाई दिएका हुन्,’ उनले भने ।
घिमिरेका अनुसार लामो समयदेखि सीमित नेताबिच ‘म्युजिकल चेयर’जस्तो सत्ता खेल चलिरहँदा नागरिक दिक्क भइसकेका थिए, जसका कारण मतदाताले नयाँ विकल्पतर्फ झुकाव देखाएका हुन् । उनका अनुसार नागरिक असन्तुष्टिको केन्द्रमा रहेको तत्कालीन प्रधानमन्त्रीलाई चुनौती दिने नेतृत्वप्रति समर्थन देखिँदा त्यो मत परिणाममा झल्किएको हो । साथै, प्रभावकारी सेवाप्रवाहको अपेक्षा पनि रास्वपातर्फ जनमत आकर्षित हुनुको अर्को कारण भएको उनले बताए । ‘हरेक सार्वजनिक काममा देखिएको ढिलासुस्ती र भ्रष्टाचारप्रति असन्तुष्टि अन्ततः ब्यालेट बक्समा व्यक्त भएको हो,’ उनले भने ।
तर, घिमिरेले नेपालमा हरेक विद्रोहपछि बहुमत पाए पनि त्यसलाई दीर्घकाल टिकाउन नसकेको इतिहास रहेको स्मरण गराए । ‘०१५ मा बहुमत पाए पनि सरकार टिकेन, ०४८ मा पनि मध्यावधि भयो, ०६४ मा माओवादी सरकार स्थिर हुन सकेन, ०७४ मा एमाले–माओवादी गठबन्धनलाई दुईतिहाइ जनादेश मिल्दा पनि संसद् दुईपटक विघटन भयो,’ उनले भने, ‘त्यसैले विद्रोहको लहरबाट स्थापित हुँदै गरेको रास्वपाले अझ सम्हालिएर अघि बढ्नुपर्ने जिम्मेवारी आएको छ ।’
उनका अनुसार नागरिक समाजले पनि सरकारलाई पाँच वर्ष स्थिर रूपमा काम गर्न सक्ने वातावरण बनाउन निरन्तर खबरदारी गर्न आवश्यक छ । ‘नागरिकले स्थिरताका लागि ठुलो अवसर दिएका छन् । त्यसलाई सम्हाल्न सके सकारात्मक परिणाम आउँछ । तर, अवसरसँगै जोखिम पनि त्यत्तिकै ठुलो छ । सम्हालिएर अघि बढे मात्रै यसको लाभ लिन सकिन्छ,’ उनले भने ।